१० माघ, सप्तरी – चन्दन रजक। सप्तरी जिल्लामा अवैध रूपमा अर्ना ओसारपसार गर्दै गरेको एक गाडी चालकसहित नियन्त्रणमा लिइएको छ।
बिहीबार सप्तरीको तोपा बजार क्षेत्रबाट को २ च १८१७ नम्बरको स्कार्पियो गाडीमा अर्ना लोड गरी गैरकानुनी रूपमा बिक्री वितरणका लागि लैजाँदै गरिएको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्ष र नेपाली सेनाको संयुक्त टोलीले गाडी नियन्त्रणमा लिएको हो।
कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख वार्डन दिपेन्द्र कुमार यादवका अनुसार उक्त गाडीबाट चारवटा अर्ना र तीनवटा राँगा गरी जम्मा सातवटा जनावर बरामद गरिएको छ। ती जनावरहरू अवैध कारोबारको उद्देश्यले ओसारपसार गरिँदै गरेको अवस्थामा फेला परेकाले गाडी चालकलाई पक्राउ गरी जनावरहरू आरक्ष परिसरमै सुरक्षित राखिएको उहाँले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
स्रोतका अनुसार पछिल्लो समय सप्तरी क्षेत्रमा कोशी टप्पु वन्यजन्तु आरक्षभित्रका संरक्षित जनावरहरू नेपाल तथा भारततर्फ अवैध रूपमा कारोबार हुने क्रम बढ्दै गएको बताइएको छ। यसमा प्रशासनिक कमजोरी वा मिलेमतोको आशंका समेत व्यक्त गरिएको छ।









