बर्दिवास । बर्दिवासस्थित महिला केन्द्र वहुउद्देश्य सहकारी संस्था बर्दिवासमा भएका सहकारीमध्ये आफ्ना शेयर सदस्यहरूलाई २१ वर्षदेखि निरन्तर १५ प्रतिशत शेयर वोनस दिने एकमात्र संस्था भएको छ । शुक्रबार गौतम होटल वर्दिबासमा भएको संस्थाको २१आंै वार्षिक साधारण सभामा १५ प्रतिशत शेयर लाभांस दिने घोषणा गरीएपछि सो कुरा सार्वजनिक भएको हो ।
निरन्तर नाफामा संचालित संस्थाको आन्तरीक कोष मात्र साढे दुई करोडभन्दा वढी रहेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख छ । महिलामात्र संचालक रहदैं आएको उक्त संस्थाले ५ लाख हाराहारी आयकर तिरेर गत वर्ष कर कार्यालय बर्दिवासले सम्मानित पनि गरेको थियो । ७० प्रतिशत भन्दा वढी महिला शेयर सदस्य रहेको संस्थाले बर्दिवास तथा गौशला नगरपालिकालाई आफ्नो कार्यक्षेत्र वनाएको छ भने ७० वटा भन्दा वढी महिला वचत समुहमार्फत कारोवार अगाडि वढाएको छ ।
संस्थाको वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट वोल्दै बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रल्हाद कुमार क्षेत्रीले महिलाले आर्थिक क्रान्तिको लागि कसरी काम गर्न सकिन्छ भनेर सिक्ने थलो महिला केन्द्र भएकाले महिला नेतृत्व विकासको लागि संस्थाकी अध्यक्ष शारदा दहाल रोलमोडल बनेको बताए । संस्थाले स्थापनाकालदेखि यस सहकारीलाई निरन्तर सहयोग गर्ने समाजसेवी समिर घिमिरे तथा संस्थाकी सल्लाहकार सरिता ढुंगानालाई सम्मान गरेको थियो ।
बालवचत, नियमित वचत, उत्कृष्ट कारोवार तथा नमुना महिला समुहहरूलाई प्रमाण पत्रसहित पुरस्कृत गरीएको थियो । अतिथिको आसनबाट वोल्दै बर्दिवास उद्योग व्यापार संघका अध्यक्ष विष्णु खड्काले संस्थाको साधारण सभामा नियमितजसो उपस्थित भईरहेको, म सधै नै संस्थाको प्रशंसा मात्र सुनिरहेको वताउदै यो कार्य अझ निरन्तर रहोस भनेर शुभकामना दिए । विशिष्ट अतिथिकारूपमा समाजसेवी समिर घिमिरेले सहकारीले महिला दिदीवहिनीको आर्थिक उत्थानको लागि व्यवसायमा जोड दिएकोमा खुसि व्यक्त गर्दै सामुहिक व्यवसाय गरेको खण्डमा अझ प्रभावकारी हुने बताए ।
संस्थाकी अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघकी संचालक शारदा दाहालले २५ जना दिदीवहिनीको २ हजार ५०० रुपैयाबाट शुरुभएको यो संस्था आज जिल्लामै महिलाले संचालन गरेको सहकारीमध्ये अग्रस्थानमा रहेको बताइन् । उनले आन्तरिक रूपमा संस्था सवल रहेको सवै अतिथि तथा शेयर सदस्यहरूलाई जानकारी गराउन पाउँदा खुसी लागेको बताइन् ।
कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी मधेश प्रदेशका अध्यक्ष हिरा गौतम, वर्दिवास नगरपालिकाका नगर प्रवक्ता विजय महतो लगायतका अतिथिहरूको सहभागिता रहेको थियो । संस्थाले शारदा दहालको अध्यक्षतामा आगामि ४ वर्षका लागि ११ सदस्यीय संचालक समिति र संगिता पोखरेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयनसमेत गरेको छ ।
संस्थाको कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार शेयर पुँजी १ करोड १० लाख, कोषमा २ करोड ५९ लाख, वचत ६ करोड ७८ लाख, र ऋण लगानी तर्फ ९ करोड ३० लाख रहेको छ ।










