काठमाडौं, माघ ८ गते ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ, जुन यो वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो ।
आज काठमाडौं उपत्यकाको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।
काठमाडौं उपत्यकाको भिजिबिलिटी पनि घटेर ३ हजार मिटर पुगेको छ । न्यूनतम तापक्रम घटेसँगै काठमाडौंमा आज चिसो बढेको छ ।
त्यस्तै, देशको तराई क्षेत्रमा बाक्लो कुहिरोले जनजीवन प्रभावित भएको छ ।
आइतबारको मौसम विवरणअनुसार जुम्लाको माइनस ५ दशमलव ६ डिग्री, जोमसोममा माइनस ५ डिग्री र दोलखाको जिरीमा १ दशमलव शून्य डिग्री सेल्सियस तापक्रम रहेको छ ।
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।









