मादीमा अस्पताल सञ्चालन


कास्की, मङ्सिर १५ गते।

कास्की जिल्लाको मादी गाउँपालिका–७ छाचोकमा अस्पताल सञ्चालनमा आएको छ। गाउँपालिकाको सोही वडामा १५ शय्या (बेड) क्षमताको अस्पताल भवन निर्माण भइरहेकामा सो अगाडि नै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट अस्पतालको सुविधा दिन सुरु गरिएको हो। अस्पतालमा मेडिकल चिकित्सक तथा प्रयोगशाला, भिडियो एक्सरे तथा एक्सरेका प्राविधिक जनशक्तिको व्यवस्थापछि बिहीबारदेखि अस्पतालको सेवा सुरु गरिएको हो।

आधारभूत स्वास्थ्य केन्द्रबाट अस्पतालको सेवा सुरु भएँगै मादीका पश्चिमी भेगका नागरिक प्रत्यक्ष लाभान्वित हुने र सामान्य उपचारका लागि पोखरा जानुपर्ने बाध्यता हटेको गाउँपालिकाले जनाएको छ।

अस्पतालको सेवा सञ्चालनका लागि रोटरी क्लब पोखरा अन्नपूर्णबाट रु ४१ र गाउँपालिकाबाट रु १४ लाख गरी ५५ लाख मूल्यबराबरका स्वास्थ्य उपकरण खरिद गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बरालले जानकारी दिनुभयो।

भिडियो एक्सरे, एक्सरे मेसिन, इसिजी मेसिन, डेन्टल केयर, प्रसूति बेड र अन्य सामान्य बिरामी बेड अन्नपूर्णले सहयोग गरेको उहाँले बताउनुभयो। स्वास्थ्य शाखा प्रमुख बरालले भन्नुभयो, “गाउँपालिकाको १५ शय्याको आधारभूत अस्प्ताल भवन अहिले निर्माणको चरणमा रहेको छ। सो भवन बनेर सेवा सुरु नहुञ्जेलसम्मका लागि स्वास्थ्य केन्द्रको भवनबाट अस्पतालको सेवा सञ्ञ्चालन गरेका हौँ। यसबाट मादीका उत्तरी भेगका नागरिकले फाइदा लिनुहुनेछ।”

अस्पतालमा एक्सरे, भिडियो एक्सरे, दाँतसम्बन्धी, प्रयोगशाला, इसिजी, फार्मेसी तथा चिकित्सकबाट नियमित बिरामी जाँचलगायतका सुविधा प्रदान गरिने सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले सेवाग्राहीको चापलाई हेरेर अस्पतालमा आवश्यक अन्य जनशक्ति तथा स्वास्थ्य उपकरण थप गर्दै लगिने बताउनुभयो।

पालिकामा भौगोलिक अवस्थितिका कारण पूर्वी भेगका जनतालाई थुम्सीकोट र पश्चिम भेगकालाई छाचोकबाट स्वास्थ्य सेवा प्रदान गर्ने गरी योजना अगाडि बढाइएको अध्यक्ष गुरुङले बताउनुभयो। “गाउँपालिकावासी नागरिकलाई आधारभूत स्वास्थ्योपचार सेवा गाउँमै उपलब्ध गराउन हामी प्रतिबद्ध छौँ। सङ्घीय तथा प्रदेश सरकारसँग मिलेर अस्पतालमा स्वास्थ्योपचार सुविधा थप गर्दै जानेछौँ”, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो।

मादीमा हाल थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा छ। यसबाट पूर्वी भेगका नागरिक लाभान्वित छन्। मादी गाउँपालिकामा १२ वडा छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको