जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै निष्कर्षमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफलपछि दुवै पक्षले वार्ता केही समयका लागि स्थगित गर्दै पुनः संवादलाई निरन्तरता दिने सहमति गरेका छन्।
शनिबार जिल्ला प्रशासन कार्यालय धनुषामा भएको द्विपक्षीय वार्तामा सरकारका प्रतिनिधि, हिन्दु सम्राट सेना तथा विभिन्न हिन्दुवादी सङ्गठनका पदाधिकारी सहभागी थिए। बैठकमा आन्दोलनका माग, जिल्लाको शान्ति-सुरक्षा अवस्था तथा पछिल्लो घटनाक्रमबारे विस्तृत छलफल भए पनि तत्काल सहमति हुन सकेन।
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले वार्ता असफल नभई केही समयका लागि मात्र स्थगित गरिएको स्पष्ट पारे। उनले करिब एक घण्टाको विश्रामपछि पुनः वार्तामा बसेर छलफललाई निरन्तरता दिइने बताए।
सरकार र आन्दोलनरत पक्षबीच सहमतिको आधार खोज्ने प्रयास जारी रहेकाले दुवै पक्ष पुनः संवादमार्फत समाधान निकाल्ने तयारीमा रहेका छन्।
यता, हिन्दु सम्राट सेनाले भने आफ्ना मागअनुसारको सम्झौता नभएसम्म वार्ता सफल भएको मान्न नसकिने जनाएको छ।
वार्तामा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, प्रतिनिधिसभा सदस्य मनिष झा, राजकिशोर महतो र बब्लु गुप्तालगायतको उपस्थिति रहेको थियो।
सुनसरीको देवानगञ्जमा भएको घटनापछि मधेशका विभिन्न जिल्लामा हिन्दु सम्राट सेना नेतृत्वमा जारी आन्दोलनलाई सम्बोधन गर्ने उद्देश्यले गृहमन्त्री गुरुङ धनुषा पुगेका हुन्।









