आज साउन १५ : देशभर खिर खाएर मनाइँदै


काठमाडौं। आज साउन १५ गते नेपाली समाजमा परम्परागत रूपमा खिर खाएर पर्व मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ मा दही–चिउरा र साउन १५ मा खिर खाने परम्परा नेपाली समाजमा प्राचीनकालदेखि मौलिक संस्कृतिका रूपमा रहँदै आएको छ।

साउने झरीको समयमा तातो खिर स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले यस दिन खिर खाने चलन बसेको विश्वास गरिन्छ। दूधमा चामल, चिनी, घिउ, गरम मसला तथा अन्य सामग्री मिसाएर बनाइने खिर पौष्टिक तथा सात्विक भोजनका रूपमा परिचित छ।

संस्कृत भाषामा पायस भनिने खिरलाई वैदिक परम्परामा सात्विक आहारमध्ये उत्कृष्ट मानिएको छ। पितृकार्य, देवकार्य तथा धार्मिक अनुष्ठानमा खिरको विशेष महत्व रहेको शास्त्रहरूमा उल्लेख पाइन्छ। श्राद्धलगायतका कर्ममा ब्राह्मणलाई पायस खुवाउने परम्परा ऋषिमुनिको पालादेखि नै रहिआएको विश्वास गरिन्छ। आज पनि वैदिक सनातन धर्मावलम्बीहरूले श्राद्धका अवसरमा गाईको दूधबाट पायस तयार गर्ने चलन कायम छ।

साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिन्छ। शिवलाई दूध तथा दूधबाट बनेका परिकार मनपर्ने धार्मिक विश्वासका कारण खिरलगायतका मिठाई विधिपूर्वक चढाइने गरिन्छ। यही कारणले साउनको मध्यभागमा खिर खाने परम्परा विकसित भएको हुन सक्ने जानकारहरूको भनाइ छ, यद्यपि यस सम्बन्धमा स्पष्ट शास्त्रीय आधार भने भेटिँदैन।

साउन महिनासम्म गाउँघरमा खेतीपातीका मुख्य काम सकिने, हरियाली बढ्ने र प्रशस्त घाँस उपलब्ध हुने भएकाले गाईभैँसीले पनि बढी दूध दिने गर्छन्। दूधको उत्पादन बढ्ने यही समयमा इष्टमित्र तथा छोरीचेलीलाई घरमा बोलाएर खिर खुवाउने सामाजिक परम्परा विकास भएको मानिन्छ।

नेपाली समाजमा चामलका साथै सावुदाना, सेवई, मकै, गाजरलगायतका सामग्रीबाट पनि खिर बनाउने चलन छ। साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खिर पनि लोकप्रिय मानिन्छ। धार्मिक विश्वासअनुसार खिर देवतालाई चढाएर मात्र सेवन गर्ने परम्परा पनि रहिआएको छ।

नेपाली बृहत् शब्दकोशले खिरलाई दूधमा चामल, चिनी, मसला आदि मिसाएर पकाइने स्वादिष्ट खाद्य पदार्थ अर्थात् पायस भनेर परिभाषित गरेको छ। नेपाली समाजमा असार १५ मा दही–चिउरा, साउन १५ मा खिर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे तथा माघ १५ मा मालपुवालगायतका परिकार बनाएर इष्टमित्र तथा छोरीचेलीलाई खुवाउने मौलिक परम्परा अझै कायम छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको