बर्दिबास, महोत्तरी । जनता साहित्यिक मञ्च गौरीडाँडा, बर्दिबासले २१३औँ भानुजयन्तीको अवसरमा सोमबार भानुजयन्ती विशेष २९औँ साहित्य शृङ्खला कार्यक्रम सम्पन्न गरेको छ।
मञ्चका प्रथम उपाध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम मञ्चको माथिल्लो सदनले आयोजना गरेको हो। कार्यक्रमको सञ्चालन मञ्चकी उपाध्यक्ष शुभेच्छा घिमिरेले गरेकी थिइन् भने सचिव श्रेया कर्णले सहभागीहरूलाई स्वागत गरेकी थिइन्।
कार्यक्रममा विचार व्यक्त गर्दै विज्ञान संकाय संयोजक रुपेश यादवले विद्यार्थीमा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए। साहित्यिक सिर्जनामा निरन्तर सक्रिय रहँदा व्यक्तित्व विकासका साथै असल नागरिक बन्न प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे।
विशिष्ट अतिथि तथा जनता माध्यमिक विद्यालय गौरीडाँडाकी सहायक प्रधानाध्यापक सरिता कार्कीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रम सान्दर्भिक रहेको बताइन्। भानुभक्तको जीवन र योगदानबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा उनले जोड दिइन्।
त्यसैगरी अतिथि शिक्षक रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै उहाँले देखाएको मार्ग अनुसरण गर्न सके समाजका लागि जिम्मेवार र असल नागरिक बन्न सकिने धारणा राखे।
कार्यक्रममा भानुभक्त आचार्यसम्बन्धी तथा अन्य विविध विषयका कविता, मुक्तक र चुट्किला वाचन गरिएको थियो। सिर्जना वाचन गर्नेहरूमा मुस्कान सिंह कुशवाहा, निकी कुमारी महतो, होमबहादुर कार्की, प्रतिज्ञा वराल, रामनाथ महतो, प्रविण साह, रेखा सिंह, विपुल विद्रोही, शुभेच्छा घिमिरे, श्रेया कर्ण, सरिता कार्की, कृष्णप्रसाद पौडेल तथा लेखनाथ श्रेष्ठलगायत सहभागी थिए।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष कृष्णप्रसाद पौडेलले भानुजयन्ती विशेष २९औँ साहित्य शृङ्खलालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरे। आगामी दिनमा पनि यस्तै साहित्यिक कार्यक्रममार्फत सृजनशील गतिविधिलाई निरन्तरता दिइने विश्वास व्यक्त गर्दै उनले कार्यक्रम समापन गरेका थिए।










