काठमाडौं । कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश श्री मुकुन्द शर्मा हुमागाईले श्री पशुपतिनाथ क्षेत्रको व्यवस्थापन तथा नेतृत्व योग्य, साधक, सदाचारी र राष्ट्रसेवाको भावना बोकेको व्यक्तिलाई दिन नेपाल सरकारसँग आग्रह गरेका छन् ।
कलाकारीता र पत्रकारिताबाट उदाएर राष्ट्र, राष्ट्रियता, कला, धर्म, संस्कार तथा संस्कृतिको संरक्षण अभियानमा सक्रिय हुमागाईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पशुपति क्षेत्रको नेतृत्व सक्षम व्यक्तिको हातमा सुम्पन सुझाव दिएका हुन् ।

देशभरका भक्तजनको सहभागितामा विश्वकै अग्लो त्रिशूल निर्माण तथा राजा, राष्ट्रपति र ७७ वटै जिल्लाका श्रद्धालुको उपस्थितिमा राष्ट्रिय कोटिहोम सम्पन्न गरिसकेका पीठाधीश हुमागाईले काभ्रेको खोपासीस्थित ऐतिहासिक श्री नरसिंह मठको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि सञ्चालन गरिएको एकमहिने धार्मिक अनुष्ठानका क्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले पशुपति क्षेत्र विकास कोषको नेतृत्वका लागि मन्त्रालयले आह्वान गरेको रोस्टरमा आवेदन दिएको जानकारी दिँदै आफूलाई जिम्मेवारी प्राप्त भए पशुपति क्षेत्रलाई भ्रष्टाचारमुक्त, आध्यात्मिक, व्यवस्थित र विश्व हिन्दू समाजको गौरवपूर्ण केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हुमागाईले पशुपतिनाथबाट राष्ट्रिय सदाचार अभियान सञ्चालन गरी राज्यसत्ता, कर्मचारीतन्त्र र नागरिक समाजलाई नैतिकता तथा सुशासनको मार्गमा प्रेरित गर्ने योजना सार्वजनिक गरेका छन् । पशुपतिनाथको भेटी, दान तथा शिवस्वको रकम धार्मिक, सामाजिक तथा परोपकारी कार्यमा मात्रै प्रयोग गरिने र आफूले कोषबाट कुनै तलब, भत्ता वा अन्य सेवा–सुविधा नलिने घोषणा समेत गरेका छन् ।
उनले पशुपति क्षेत्रभित्र रहेका पशुपतिनाथ, बासुकी, गुह्येश्वरी, भुवनेश्वरी, विश्वरूपा लगायतका मन्दिर तथा पीठहरूमा नित्य, विशेष र पर्वपूजालाई विधिपूर्वक सञ्चालन गर्ने, रोकिएका धार्मिक अनुष्ठान पुनः सञ्चालन गर्ने तथा सम्पूर्ण शिवालय र देवीदेवताका मन्दिरमा नियमित पूजा व्यवस्थापन गर्ने योजना प्रस्तुत गरेका छन् ।
पूजामा प्रयोग हुने जल, दूध, दही, घ्यू, मह तथा अन्य सामग्रीको शुद्धता सुनिश्चित गरिने, वाग्द्वार तथा सुन्दरीजलबाट पवित्र जल ल्याई अभिषेक गरिने तथा भक्तजनलाई व्यवस्थित रूपमा प्रसाद, चन्दन र तीर्थ वितरण गरिने उनले बताएका छन् ।
आर्थिक सुधारतर्फ कोषलाई आत्मनिर्भर बनाउने, भेटी तथा आर्थिक कारोबारलाई पूर्ण पारदर्शी बनाउने, भ्रष्टाचार नियन्त्रणका कडा उपाय लागू गर्ने तथा कोषका सम्पत्ति र संरचनाको व्यावसायिक तथा पारदर्शी व्यवस्थापन गर्ने उनको योजना रहेको छ ।
त्यसैगरी, पशुपति क्षेत्र विकास कोषसम्बन्धी ऐन, नियम तथा निर्देशिकालाई समयानुकूल बनाउन सार्वजनिक सुनुवाइमार्फत सुझाव संकलन गरी आवश्यक परिमार्जनका लागि पहल गर्ने उनले बताएका छन्।

भौतिक संरचना सुधारअन्तर्गत भग्न शिवालय, देवालय, धर्मशाला, पाटी तथा सत्तलहरूको पुनर्निर्माण, विश्व सम्पदा क्षेत्रको मापदण्डअनुसार पुरातात्त्विक सम्पदाको संरक्षण तथा लामो समयदेखि बन्द रहेको वनकाली धर्मशालाको पुनः सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ ।
व्यवस्थापकीय सुधारअन्तर्गत आवश्यक जनशक्ति व्यवस्थापन, स्वयंसेवक परिचालन, बागमती सरसफाइ अभियान, जात्रा तथा पर्वहरूको परम्परागत संरक्षण, महाशिवरात्रि, बाला चतुर्दशी, तीज तथा श्रावण पर्वको व्यवस्थित सञ्चालन र भक्तजनमैत्री दर्शन व्यवस्थालाई प्राथमिकतामा राखिएको छ ।
आर्यघाट, भष्मेश्वर घाट तथा विद्युतीय शवदाह गृहलाई सेवाग्राहीमैत्री बनाउने, विपन्न नागरिकका लागि निःशुल्क शवदाह सेवा उपलब्ध गराउने तथा वातावरण संरक्षणका लागि विद्युतीय शवदाहलाई प्रोत्साहन गर्ने योजना पनि उनले अघि सारेका छन् ।
पशुपति क्षेत्रभित्र धार्मिक सामग्रीको व्यवस्थित बजार व्यवस्थापन, स्थानीय व्यवसायीको संरक्षण, मांसमदिरा बिक्री नियन्त्रण तथा सम्पूर्ण चल–अचल सम्पत्तिको अभिलेखीकरण र संरक्षण गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्वभरका हिन्दू समुदायसँग समन्वय गरी अन्तर्राष्ट्रिय पशुपतिनाथ समन्वय समिति गठन, गैरआवासीय नेपालीहरूसँग सहकार्य, अनलाइन पूजा तथा दर्शन सेवा सञ्चालन तथा नेपाललाई विश्व हिन्दू तीर्थ केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको हुमागाईले बताएका छन् ।
त्यसैगरी धार्मिक संघसंस्था, मठमन्दिर तथा स्वयंसेवक समूहसँग सहकार्य गर्दै आरती, यज्ञ, साधना, प्रवचन, भण्डारा, गौसेवा, वन संरक्षण, योग–ध्यान तथा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
विशेष योजनाअन्तर्गत पशुपति क्षेत्रको विश्वव्यापी प्रचारप्रसार, वनकाली वेद विद्याश्रमको क्षमता विस्तार, निःशुल्क आवासीय शिक्षाको व्यवस्था, ‘श्री पशुपति सनातन हिन्दू विश्वविद्यालय’ स्थापना, आयुर्वेद चिकित्सालय सञ्चालन, वानर, मृग, नन्दी तथा गौवंश संरक्षणका लागि पशु चिकित्सालय स्थापना र राष्ट्रिय गौसंरक्षण अभियानलाई सुदृढ बनाउने कार्यक्रमसमेत समावेश गरिएको छ ।
हुमागाईले आफ्नो लक्ष्य “भ्रष्टाचारमुक्त, आध्यात्मिक, समृद्ध, व्यवस्थित र विश्व हिन्दू समाजको गौरवपूर्ण केन्द्रका रूपमा श्री पशुपतिनाथ तथा पाशुपत क्षेत्रको विकास” रहेको उल्लेख गर्दै “सदाचार, सेवा र सनातन संस्कृतिको संरक्षण – समृद्ध पशुपति, गौरवशाली नेपाल” नारालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।



















