६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेताहरुलाई छलफलका लागि केन्द्रीय कार्यालय सानेपामा बोलाएको छ।
दिउँसो १ बजे हुने उक्त बैठकमा प्रदेश सरकारका मन्त्रालयहरूको संख्या घटाउने विषय मुख्य एजेन्डा रहने एक नेताले जानकारी दिएका छन्। कांग्रेस नेतृत्वमा रहेका प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने र मन्त्रिपरिषद्को आकार सानो राख्नेबारे छलफल हुने बताइएको छ।
हाल कांग्रेसले मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ। ती प्रदेशहरूमा मन्त्रिपरिषद्को संख्या ५ देखि ७ मन्त्रीभित्र सीमित गर्ने विषयमा पार्टीभित्र आन्तरिक बहस जारी छ।
यसैबीच, पार्टीले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश तथा स्थानीय तहका सरकारको कार्यसम्पादन प्रभावकारी बनाउन केन्द्रबाट समन्वय गर्ने जिम्मेवारी दिएको छ।









