महोत्तरी। अन्तरजातीय विवाह गरेको निहुँमा बुहारीमाथि जातीय छुवाछुत तथा अमानवीय व्यवहार गरेको आरोपमा महोत्तरीमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
औरही नगरपालिका-५ निवासी ४५ वर्षीया वविता देवीलाई जातीय छुवाछुत तथा अमानवीय व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। गत माघ ८ गते दर्ता भएको मुद्दामा फरार रहेकी उनलाई घरबाटै नियन्त्रणमा लिइएको हो।
उक्त मुद्दा उनकी बुहारी इन्द्रा कुमारी मण्डलको जाहेरीका आधारमा दर्ता भएको हो। इन्द्राका अनुसार आफूले नवजात शिशुसहित घर प्रवेश गर्न खोज्दा सासुले “कुलदेवता रिसाउने” भन्दै कुटपिट गरी घरमा प्रवेश गर्न नदिएको तथा जातीय रूपमा अपमानजनक व्यवहार गरेको आरोप लगाइएको छ।
इन्द्राका श्रीमान् मेघनाथ यादव हाल सम्पर्कविहीन रहेको जनाइएको छ। उनी १० दिनअघि भारततर्फ लगिएको र त्यसयता सम्पर्कमा नआएको इन्द्राको दाबी छ। उनले श्रीमान् तथा परिवारका अन्य सदस्यविरुद्ध अंशसम्बन्धी मुद्दासमेत दर्ता गरिसकेको बताएकी छन्।
इन्द्राका अनुसार विवाहका बेला दुवैजना नाबालिग रहेकाले केही समय भारतमा बसोबास गर्नुपरेको थियो। पछि सासुले श्रीमानलाई साथमा लिएर गएको र त्यसपछि आफू सम्पर्कविहीन भएको उनको भनाइ छ। त्यसबेला आफू गर्भवती रहेको उनले उल्लेख गरेकी छन्।
फागुन १२ गते जन्मिएको शिशुले हालसम्म बाबुको अनुहारसमेत नदेखेको इन्द्राले बताएकी छन्। आफू घर फर्किँदा “तल्लो जात” भन्दै प्रवेश गर्न नदिइएको र अमानवीय व्यवहार गरिएको उनको गुनासो छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। जातीय विभेद तथा अमानवीय व्यवहारजस्ता संवेदनशील विषयमा कानुनी प्रक्रिया अघि बढाइएको र अन्य संलग्न व्यक्तिको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याइने जनाइएको छ।
यस घटनाले समाजमा अझै विद्यमान जातीय विभेद, बालविवाह तथा पारिवारिक हिंसाका समस्या उजागर गरेको भन्दै सरोकारवालाहरूले यस्ता घटनाको अन्त्यका लागि प्रभावकारी कार्यान्वयन र पीडितलाई न्याय सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। -Shirish News









