महोत्तरी। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै महोत्तरीमा डिजे प्रयोग तथा मदिरा बिक्री-वितरणमा प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले छुट्टाछुट्टै सूचना जारी गर्दै निर्वाचन अवधिभर शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा ध्वनि प्रदूषण नियन्त्रणका लागि यस्तो निर्णय गरिएको जनाएको छ।
चुनावी प्रचारप्रसारका क्रममा ग्रामीण तथा सहरी क्षेत्रमा चर्को स्वरमा डिजे बाजा बजाएर प्रचार हुने गुनासो बढेपछि डिजेमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी संजय पोखरेलले जानकारी दिए। उनका अनुसार सार्वजनिक स्थान, जुलुस, र्याली तथा आमसभामा डिजे साउन्ड सिस्टम, ठूला लाउडस्पिकर र ध्वनि प्रदूषण गर्ने उपकरण प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ।
अत्यधिक ध्वनिका कारण विद्यार्थीको अध्ययनमा असर पर्ने, ज्येष्ठ नागरिक तथा बिरामीको स्वास्थ्यमा समस्या देखिने तथा शान्ति सुरक्षामा प्रतिकूल प्रभाव पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार फागुन १० गतेदेखि अर्को सूचना जारी नभएसम्म डिजे प्रयोगमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
प्रशासनले निर्णय उल्लङ्घन गरी डिजे प्रयोग गरेको पाइएमा उपकरण जफत गरिने र प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
यसैगरी निर्वाचनलाई सभ्य, सुव्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न फागुन १४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लाभर मदिरा बिक्री-वितरण र सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध गरिएको छ।
सूचना उल्लङ्घन गरी मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने र सुरक्षा निकायले कडाइका साथ अनुगमन गर्ने प्रशासनले जनाएको छ।
निर्वाचन अवधिमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणबाट सहयोगको अपेक्षा गरिएको सहायक प्रजिअ पोखरेलले बताएका छन्।










