९ फागुन, रौतहट। रौतहटको सदरमुकाम गौर-६ स्थित सवगढा गाउँमा भएको आगजनी तथा झडपको घटना नियन्त्रणमा लिन स्थानीय प्रशासनले तीनवटै सुरक्षा निकाय परिचालन गरेको छ।
जिल्ला प्रशासन कार्यालय रौतहट का अनुसार अहिले गौरलगायत क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। झडप प्रभावित क्षेत्रमा नेपाली सेना समेत परिचालन गरिएको छ।
सामाजिक सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल ले सर्वसाधारणलाई संयमता अपनाउन आग्रह गरेका छन्।
प्रजिअ भुसालका अनुसार झडप रोक्ने प्रयासमा सुरक्षा निकाय केन्द्रित रहेका छन्। भित्री क्षेत्रमा केही समूहले ढुङ्गामुडा गरे पनि बजार क्षेत्र भने शान्त रहेको उनले बताएका छन्।
घटनासम्बन्धी प्रहरीले हालसम्म १८ जनालाई पक्राउ गरेको छ। शुक्रबारदेखि सुरु भएको झडप नियन्त्रण गर्न स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरेको भए पनि भित्री भागमा ढुङ्गामुडा प्रहारका छिटफुट घटना भइरहेका जनाइएको छ।









