जनकपुर। नेशनल जियोग्राफीले सेफ सन्तोष साहले प्रस्तुत गरेको ‘मिथिला थाली’लाई आफ्नो म्यागजिनमा विशेष रूपमा फिचर गरेको छ। नेपाली सेफका रूपमा अन्तर्राष्ट्रिय चर्चा कमाएका साहको मिथिला थाली अहिले विश्वभर ध्यान आकृष्ट गरिरहेका परिकारमध्ये एक बनेको छ।
नेशनल जियोग्राफिकको रिपोर्टअनुसार ‘मिथिला थाली’मा दैनिक ५०० भन्दा बढी ग्राहकले सेवाग्रহণ गरिरहेका छन्। स्थानीय सामग्री, घरेलु स्वाद र परम्परागत पाक–विधिलाई आधुनिक शैलीसँग संयोजन गरी प्रस्तुत गरिएको यो थाली नेपाली खानाको बढ्दो अन्तर्राष्ट्रिय लोकप्रियताको प्रतीक भएको उल्लेख गरिएको छ।
अन्तर्राष्ट्रिय म्यागजिनमा आफ्ना परिकार तथा जन्मथलो जनकपुरको प्रशंसा भएको प्रसंगमा सेफ सन्तोषले खुसी व्यक्त गरेका छन्। “आफ्नै ठाउँ र स्थानीय खानालाई विश्वले मान्यता दिँदा गर्व लाग्छ। अझ राम्रो बनाउन निरन्तर परिश्रम गर्दै अघि बढ्नेछु,” सन्तोषले भने।
म्यागजिनमा जनकपुरलाई धार्मिक, सांस्कृतिक र समृद्ध पाक–परम्पराको शहरका रूपमा वर्णन गरिएको छ। जानकी मन्दिरको भव्यता, कलाकारिता र तीर्थयात्रीको भीडबाट जनकपुरको सांस्कृतिक धनीपन झल्किने भन्दै लेखमा प्रशंसा गरिएको छ। साथै मिथिला भोजनलाई दक्षिण एसियाकै उत्कृष्ट स्थानीय परिकारमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ।
यसअघि पनि लोन्ली प्लानेटले जनकपुरधामलाई सांस्कृतिक, धार्मिक र खाद्य पर्यटनका लागि उदीयमान गन्तव्यको रूपमा सूचीकृत गरिसकेको थियो।
सन्तोष साहले जनकपुरमा मात्रै होइन, ‘मिथिला थाली बाइ सन्तोष शाह’ ब्रान्डमार्फत ललितपुर झम्सिखेल, काठमाडौं नक्साल र गौशालामा समेत सेवा विस्तार गरेका छन्। साथै जनकपुरको माछाको स्वाद काठमाडौँमा प्रस्तुत गर्न ‘जनकपुर फिस हाउस’ नक्सालमा सञ्चालनमा छ।
उनका अनुसार केही महिनाभित्रै वीरगञ्जमा पनि मिथिला थालीको नयाँ शाखा खोल्ने तयारी भइरहेको छ।









