जीवनराज दाहाल (बर्दिवास, महोत्तरी) — मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री शकिल अली मियाँले मधेश सरकारले चाँडै पर्यटन सम्बन्धी नियमावली ल्याएर प्रदेशस्तरीय पर्यटन बोर्ड गठन गर्ने बताएका छन् ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश र मन्त्रालयको संयुक्त आयोजनामा बिहीबार सप्तरीको राजविराजमा सम्पन्न “स्थानिय सरकार, मधेश प्रदेश सरकार, पर्यटन व्यवसायी र सरोकारवालाबीचको बैठक तथा अन्तरक्रिया, अवलोकन एवं प्रचारप्रसार कार्यक्रम”लाई सम्बोधन गर्दै मन्त्री मियाँले पर्यटन ऐन बनिसकेको र अब नियमावली अन्तिम चरणमा पुगेको जानकारी दिए ।

“अब हामी छिट्टै पर्यटन बोर्ड गठन गर्दैछौं,” मन्त्री मियाँले भने, “यो बोर्डको स्थापना भएपछि मधेशको पर्यटन विकासले गति लिनेछ ।”
उनका अनुसार मधेशका आठवटै जिल्लामा पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक तथा धार्मिक स्थलहरूको संरक्षण र सम्वर्द्धनमा सरकार निरन्तर क्रियाशील छ । विगतमा जस्तै आगामी आर्थिक वर्षमा पनि त्यसका लागि बजेट विनियोजन गरिने उनले उल्लेख गरे ।
पर्यटनको विकास सरकारी प्रयास मात्रले सम्भव नहुने बताउँदै मन्त्री मियाँले निजी क्षेत्र, स्थानीय तह र सरोकारवालाको सहकार्य अपरिहार्य भएको स्पष्ट पारे ।

कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले अध्यक्षता गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्व सिंचाईमन्त्री उमेशकुमार यादव, तथा राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी लगायतले सप्तरीका ऐतिहासिक तथा धार्मिक स्थलहरूको प्रचारप्रसार र संरक्षणमा तीनै तहका सरकारको साझा प्रयास आवश्यक रहेकोमा जोड दिए ।











