बर्दिवास मेडिकल कलेज निमार्ण अघि बढ्ने सन्देश


बर्दिवास । बर्दिवास मेडिकल कलेजको काम अब अघि बढ्ने भएको छ । बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीको सक्रीयतामा हालै उनकै निवासमा भएको यसभेगमा जनप्रतिनिधिको बैठकले एकीकृत प्रयास गर्ने प्रतिवद्धता जनाएसंगै यो विषयले जनतामा आशा जगाएको हो ।
गत शनिबार मेयर क्षेत्रीको पहलमा उनकै निवासमा बसेको यस क्षेत्रबाट नगर, प्रदेश र संघमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको बैठक बसेको थियो । बैठक बर्दिवास मेडिकल कलेजको काम कसरी अघि बढाउने विषयमा छलफल भएको बताइएको छ । बैठकमा महोत्तरी –१ का संघीय सांसद लक्ष्मी महतो, सोही क्षेत्र (क) की सांसद शारदा थापा, सोही क्षेत्र (ख) का सांसद भरत साह र बर्दिवास नगरप्रमुख प्रह्लाद क्षेत्रीको सहभागिता थियो ।
यसअघि जस लिने होडवाजीमा दलगत वा समूहगत भिन्दाभिन्दै प्रयास भए पनि सबैको चासो मेडिकल कलेज निर्माण होस् भन्ने नै रहेकाले अब सबै मिलेर एकीकृत प्रयास गर्ने प्रतिवद्धता जनाइएको मेयर क्षेत्रीले बताए । उनले भने ‘अहिले भनेको निर्माणस्थलको जग्गाको भोगाधिकार प्राप्त गर्नु नै हो’ उनले थपे ‘अब अदालतको निर्देशनअनुसारका सबै काम सकिएका छन् । वन सम्वद्ध सरकारी अधिकारीलाई अनुगन गराएर सिफारिस लिने मुख्य काम छ ।’ अदालतको निर्देशन बमोजिमभन्दा बढी नै विरुवा रोपिएको छ । त्यसको संरक्षण, सम्वद्र्धनको काम पनि भएको छ । यसबीचमा जिल्ला वन अधिकृत (डिएफओ) आउन, जाने (सरुवा) को क्रम चलेकाले अनुगमन गराएर सिफारिस वा प्रमाणित गराउन ढिला भएको उनको भनाई छ ।


कलेज निर्माण रोक्न भन्दै २०७८ माघमा दर्ता भएको रिट सर्वोच्च अदालतले गत जेठ २९ गते खारेज गरेको थियो । रिट खारेज गर्दै अदालतले प्रस्तावित जग्गामा भएका रूख कटान गर्नुअघि बर्दिवास मेडिकल कलेज पूर्वाधार विकास आयोजनाले काटिनेभन्दा दोब्बर संख्या बढी रूखका बिरुवा रोपण गर्ने, पाँच वर्षसम्म संरक्षण गर्ने र रोपिएका बिरुवाको वन तथा वातावरण मन्त्रालयबाट नियमित अनुगमनको सुनिश्चितता गर्न स्पष्ट निर्देश गरेको थियो ।
बर्दिवास–४ माईस्थानको अटाबे खोल्सी पूर्व र भब्सीखोला पश्चिमको ५४. ५८४ हेक्टर क्षेत्रफलभित्र कलेज निर्माणका लागि प्रस्ताव गरिएको वन क्षेत्रको जग्गामा सानाठूला गरी हाल एक हजार नौ सय ६७ रूख छन् । निर्माण गरिने संरचना धेरैजसो भब्सी नदी उकास क्षेत्रमा पारिने हुँदा प्रस्तावित क्षेत्रमा रहेका रूख पनि सबै नकाटिने आयोजनाले जनाएको छ ।
यता बर्दिबास नगरपालिकाले कलेजका पूर्वाधार निर्माण गर्दा काटिन सक्ने रूखका कारण पर्यावरणमा पर्नसक्ने प्रतिकूल असर रोक्न २०७८ देखि नै वृक्षारोपण अभियान थालिएको जनाएको छ । यस पटकसमेत गरेर करिव ५० हजारबढी विरुवा रोपण गरिसकेकोमा २० हजार बढी त सरिसकेको मेयर क्षेत्री बताउँछन् । त्यसको गोडमेल, पुनःरोपण, आवश्यक मल र सिँचाइ सुविधाका लागि आवश्यक प्रबन्ध र जनशक्ति व्यवस्थापन पनि गरिएको उनको कथन छ ।
अब सो रोपण गरिएको विरुवाको जिल्ला वन कार्यालयले अनुगमन गरेर प्रमाणित गरेपछि वन तथा वातावरण मन्त्रालयले भोगाधिकार दिन्छ । भोगाधिकार प्राप्त गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएर बजेट व्यवस्थापन गरिएपछि पूर्वाधार निर्माणको कामले गति लिने बताइएको छ । मेयर क्षेत्रीकाअनुसार यसका लागि पनि निरन्तर पहलकदमीको आवश्यकता पर्छ । त्यसका लागि पनि जनप्रतिनिधिबीच छलफल भएको हो । भएको प्रगतिको एकअर्कामा आदानप्रदान गर्ने र आएका अफ्ठ्याराको मिलेर समाधान खोज्ने प्रतिवद्धता भएको उनले बताए ।
केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३÷७४ को नीति तथा कार्यक्रममा मुलुकका सातवटै प्रदेशमा एक÷एकवटा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसारको मधेश प्रदेशमा खोलिने मेडिकल कलेजको स्थान बर्दिवास तोकिएको हो । एक हजार शय्याको आधुनिक प्रविधिको साधन सुविधायुक्त अस्पतालसहितको कलेजको पूर्वाधार निर्माणमा २८ अर्ब ५४ करोड लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदनको हालसम्मको अध्ययनले देखाएको छ । हालसम्म यस आयोजनामा छ करोडभन्दा बढी खर्च भइसकेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको