चितवन, साउन ३ । सिमलताल पहिरोका कारण त्रिशूलीमा बेपत्ता भएको बसका अर्का यात्रुको भरतपुर महानगरपालिका–२६ शिशुवार क्षेत्रमा नारायणी नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ ।
शवको पहिचान हुन बाँकी छ । शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । यससँगै सिमलटाल दुर्घटनामा बेपत्ता भएका २० जनाको शव फेला परेको छ ।
जसमध्ये १४ जनालाई परिवारले शव पहिचान गरी लगेका छन् ।
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ मा सिमलतालमा असार १४ गते बिहान पहिरोले दुईवटा यात्रुबाहक बस बगाएको थियो । ६२ यात्रु बोकेको बस त्रिशूलीमा बेपत्ता भएको थियो । नदीमा डुबेका ४२ यात्रुको अवस्था अझै अज्ञात छ ।
शशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र नेपाली सेनाका विपद् व्यवस्थापन गण रसौलीका तालिम प्राप्त सुरक्षाकर्मीले विभिन्न प्रविधिको प्रयोग गरेर बसको खोजतलास गरे पनि घटना भएको ७ दिनसम्म पनि बस फेला पार्न सकेका छैनन् ।
वीरगञ्जबाट २७ यात्रुसहित काठमाडौं जान आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाण्डौंबाट ३८ यात्रु लिएर रौतहटको गौर जान आउँदै गरेको बा ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बनाएको थियो । बस पानीमा खसेपछि ३ यात्रु पौडी खेलेर बाँच्न सफल भएका थिए । onlinekhabar










