
ब्रिजटाउन, जेठ २१ । टी–२० विश्वकपमा समूह ‘बी’ को पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ । २२ रनको लक्ष्य पाएको ओमानले ६ बलमा १० रन मात्र बनाउन सकेको सक्यो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो । डेभिड भिसाले १३ रन र गेर्हार्ड इरास्मसले ८ रन बनाए ।
यसअघि निर्धारित ओभरमा खेल रोमाञ्चक बराबरीमा सकिएको थियो । त्यसपछि खेल सुपर ओभरमा गयो ।
१ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।
नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए । उनले ४८ बलमा ६ चौका प्रहार गरे । त्यस्तै, निकोलास डाभिनले ३१ बलमा २४ रन जोडे ।
खेलमा नामिबियाले खराब सुरुवात गरेको थियो । दोस्रो बलमा नै ओपनर माइकल भान लिनगेन शून्य रनमा आउट भए ।
ओमानका लागि मेहरन खानले ३ विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो । खेलमा ओमानको सुरुवात निकै खराब रह्यो ।
पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो ।
त्यसपछि खालिद काइल र जिसान मक्सुदले ओमानको इनिङ्स सम्हाले । खालिद ३९ बलमा ३४ रन बनाए भने मक्सुदले २० बलमा २२ रन जोडे । त्यस्तै आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनकोको योगदान दिए ।
नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए । उनले ४ ओभरमा २१ रन मात्र खर्चे । यो उनको करियरको उत्कृष्ट बलिङ प्रदर्शन थियो र यो विश्वकपमा नामिबियाका लागि पनि उत्कृष्ट प्रदर्शन थियो। बलिङतर्फ डेभिड विसाले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए भने बर्नार्ड स्कोल्ट्जले १ विकेट लिए । सेतोपाटी