डोटी, जेठ ३ । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । डोटीको राजपुरमा स्वास्थ्य शिविर चलाएर ठगी गरेको आरोपमा प्रहरीले नक्कली चिकित्सकसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नक्कली चिकित्सक महाकाली नगरपालिका–४ का ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरेको हो । उनीहरूको कागजपत्र हेर्दा शंका लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा चिकित्सक भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।
प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए ।









