काठमाडौं, वैशाख ३० गते ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले झापास्थित गिरिबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट) घटनामा तत्कालिन केपी ओली नेतृत्वको सरकारले कारबाही गर्नुपर्ने टिप्पणी गरेका छन् ।
बालेनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणमा झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले उल्टाएको उल्लेख गर्दै अब तत्कालिन ओली नेतृत्वको सरकारलाई अहिलेको सरकारले कारबाही गर्नुपर्ने बताएका छन् ।
बालेनले अहिलेको अवस्थामा जग्गाको मूल्य १० अर्बभन्दा बढी रहेको भन्दै तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनु पर्ने बताएका छन् । उनले जग्गा बैना गर्ने सबैलाई कानुनी प्रक्रियामा गएर बैना फिर्तामा जान आग्रह गर्दै अब जग्गा प्राप्तिको बाटो सकिएको उल्लेख गरेका छन् ।
उनले एउटै प्रयासमा देशको अर्बौंको सम्पत्ति जोगाउन सफल भएका महानगरका कानुनी सल्लाहकार समेत रहेका ओम प्रकाश अर्याललाई धन्यवाद दिएका छन् ।
(इकागज)









