काठमाडौं, चैत १३ गते ।
ललितपुर महानगरपालिका–२६ ढोलाहीटीको घटनामा संलग्न व्यक्ति आपराधिक पृष्ठभूमिका रहेको खुलासा भएको छ ।
आइतबार राति होली खेलेपछि ढोलाहीटीस्थित डी पोपिना क्यान्टिनमा गएर मदिरा सेवन गर्ने क्रममा युवाबीच चक्कु प्रहार हुँदा २ जनाको मृत्यु भएको थियो ।
मृतक रोबस राई र पुजन राई फरक–फरक समूहका हुन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई समुहका १८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक जना खाजा पसलका सञ्चालक विजय राई रहेका छन् । झडपका क्रममा चक्कु प्रहार गर्ने व्यक्ति उनी नै भएको प्रहरीले दाबी गरेको छ ।
पक्राउ परेका विजय आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । प्रहरी स्रोतका अनुसार उनी यसअघि लागुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल सजाय भोगेका व्यक्ति हुन् ।
उनलाई थानकोट प्रहरीले लागुऔषध मुद्दामा अनुसन्धान गरी मुद्दा चलाएको थियो ।
प्रहरीले आज पत्रकार सम्मेलन गरी घटनाको थप विवरण सार्वजनिक गर्ने छ ।
(onlinekhabar)









