प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे विश्वासको मत प्राप्त


Deep Diamond

काठमाडौं, फागुन ३० गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे ।

बुधबार प्रधानमन्त्रीले विश्वासको मत मागेपछि प्रतिनिधिसभाका २७५ मध्ये २६८ सदस्यले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनु परेको थियो ।

प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गरे ।

गत फागुन ११ गते कांग्रेससँगको गठबन्धन तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाएका प्रचण्डलाई पार्टी समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पनि मत दिएका छन् ।

नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतले विपक्षमा मतदान गरेका छन् ।

२०७९ पुस १० मा प्रधानमन्त्रीमा निर्वाचित भएका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत मागेको यो तेस्रो पटक हो । २०७९ पुस २५ गते पहिलो पटक विश्वासको मत लिएका प्रचण्डलाई त्यो समयमा प्रतिनिधिसभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी बाहेक सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

तर २०७९ फागुनमा एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग गठबन्धन बनाएका प्रचण्डले २०७९ चैत ६ गते विश्वासको मत लिएका थिए । त्यतिबला उनले १७२ मत पाएका थिए ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको