बर्दिवासमा आज देखि पहिलोपटक ऐतिहासिक, ‘सडक खाना महोत्सव’को आयोजना


बर्दिबास, फागुन ५ गते ।

‘सडकमा खाऔं, सडकमै रमाऊँ’ भन्ने मूलनाराका साथ महोत्तरीको बर्दिवासमा आजदेखि पहिलो पटक ऐतिहासिक ‘सडक खाना महोत्सव’ हुने भएको छ ।

पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आज फागुन ५ देखि ७ गतेसम्म महोत्सव आयोजना गरेको हो ।

सडक, भोजन र पर्यटनबिचको अन्योन्याश्रित सम्बन्धलाई सुमधुर बनाउन होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले बिपी राजमार्गको प्रवेश बिन्दु बर्दिबासमा सडक खाना महोत्सव आयोजना गरिएको छ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका मधेश प्रदेश अध्यक्ष हिरा गौतमका अनुसार बर्दिवास सडक खाना महोत्सव हाम्रो मात्रै नभई मधेस प्रदेशका लागि पनि हो ।

‘मधेस प्रदेशका ८ वटै जिल्लाको भोजन संस्कृतिलाई समेट्न रौतहटको कटिया (मासुको परिकार), बाराको सेकुवा, धनुषाको तरुआ (मिथिलाको खाना), सिरहाको कमलाको माछा र सप्तरीको बरामझियाको पेडा एउटै कचौराबाट खाने व्यवस्था गरिएको छ ।

गौतमले भने, “यसबाट मधेस प्रदेशका जिल्लाहरूबीचको सामाजिक, सांस्कृतिक र व्यावसायिक सहयोग, सम्बन्ध र मित्रता वृद्धि हुनेमा हामी आशावादी छौं ।

तीन दिनसम्म आयोजना हुने सडक भोजन महोत्सवले व्यापारलाई तिव्रता दिनुका साथै आन्तरिक पर्यटनको जगमा पनि इँटा थप्ने उनले बताए । मधेश प्रदेशको भोजन संस्कृति, सृजना, स्थानीय उत्पादन र पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वासका साथ सडक भोजन महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा ५० होटलले सेवा एउटै थलोबाट दिने व्यवस्था मिलाइएको महोत्तरी होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष गुञ्ज खड्काले जानकारी दिए । ‘यस ठाउँबाट मधेस प्रदेशको भोजन संस्कृति फैलाउने प्रयास पनि गरेका छौँ । महोत्सवमा भोजन फूडका साथै स्थानीय तथा राष्ट्रिय कला र संस्कृतिका प्रस्तुतिव्यवस्था पनि मिलाइएको छ । यसले मधेश प्रदेश र बर्दिबासको पहिचान अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा छ“, उनले भने ।

“यो मधेश प्रदेशकै लागि नौलो अभ्यास र पहिलो प्रस्तुति भएकोले महोत्सवको सफलताका लागि सबैको सहयोग, शुभेच्छा र सहभागी हुनुपर्छ“, उनले भने ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिव नारायण घिमिरेले महोत्सव मार्फत मधेशको मौलिक खाना भुजिया, तरुवा, बगिया, करी वरी जस्ता परिकारको स्वाद र पहिचान बढाई व्यवसायीकरण गर्ने सोच रहेको बताए।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव परमेश्वर महतोले पनि कोरोनापछिको आर्थिक मन्दीले आक्रान्त बनेको बजारलाई चलायमान बनाउने उद्देश्यले सडक खाना महोत्वस आयोजनको तयारी गरेको जानकारी दिए।

“यो महोत्सव आफैँमा नौलो प्रस्तुति भएकोले यसप्रति सबैको चासो र उत्सुकता बढेको छ । मधेशका सबैजसो समुदायको भोजन संस्कृतिलाई समेट्ने प्रयास गरेका छौं । खाना महोत्सव व्यापार प्रवर्धका साथै समाजिक सौहार्दताको प्रतीक बन्ने अपेक्षा छ“, सचिव महतोले भने ।

बीपी राजमार्गको पूर्वतर्फ करिब साढे ५ सय मिटर सडकमा ५० वटा खानाका स्टल राखिने राख्ने बन्दोबस्त गरिएको छ। महोत्सवस्थलमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम पनि हुने भएकाले मनोरन्जनसँगै होटलमा पाउनेभन्दा २० देखि ४० प्रतिशससम्म छुटमा खाजा खाना खान पाइने आयोजकले जनाएको छ ।

महोत्तरी बाहिरबाट स्टल राख्न आउने होटल व्यवसायीलाई स्टल फ्रि गरिएको र जिल्लाका स्थानिय व्यवासयीलाई १ हजार देखि १५ सय र २ हजारसम्ममै सस्तो मुल्यमा स्टल उपलब्ध गराइएको संघका अध्यक्ष गुन्ज खडकाले जनाए ।

बर्दिवासमा भएका धेरै व्यापारिक महोत्सवको अवलोकलन धेरैले गरेका भएपनि यस्तो महोत्सव जिल्लामै पहिलो पटक लागिरहेको उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले बताए । बर्दिवासका लागि नयाँ विषय भएकाले सडक खाना महोत्सव कस्तो हुन्छ भन्ने चासो सर्वसाधारण र सवै सरोकारवालाई भएकाले महोत्सव सफल हुने विश्वास खड्काले व्यक्त गरे ।

सांस्कृतिक तथा पर्यटन प्रवर्दन गर्न बर्दिवास नगरपालिकाले छुट्याएको ६ लाख ५० हजार र अन्य रकम सहयोग लिएर १५ लाख लागतमा महोत्सव गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

संघका महासचिव घिमिरेले तीन दिने सडक खाना महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको र सोहीअनुसार प्रचारप्रसार गरिएको बताए ।

महोत्तरीको खानाको प्रवद्र्धन र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको ३ दिन बर्दिवासमै बस्न आयोजकले सबैलाई अपिल गरेको छ ।

श्रोत Shirish News


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको