काठमाडौं, फागुन ४ गते ।
सिन्धुलीको दुधौली नगरपालिका ९ आँपडाडामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० का अन्दाजी करिब २३ वर्षीय बेचु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए ।
कुमार स १० प ३९०९ नम्बरको मोटरसाइकल डकहाबाट दुधौलीतर्फ जाँदै थिए । उनलाई दुधौली नगरपालिका ९ का अन्दाजी करिब ५५ वर्षीय हरि राउतले चलाएको प्र.१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुवैजना अनियन्त्रित भई सडकबाट १० फिट तल खेतमा खसेका थिए ।
बेचु कुमारको टाउकोमा चोट लागेको छ भने उनको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि कटारीको सरकारी अस्पतालमा लगिए पनि आज बिहान ६ बजेर ५५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालले जानकारी दिए ।
अर्का मोटरसाइकल चालक हरि राउतको दुधौलीस्थित प्रयाग अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा भाँचिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।









