
एजेन्सी । मोरक्को फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको नकआउट चरणको खेलमा स्पेनमाथि पेनाल्टी सुटआउटमा ३-०को जित निकाल्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुगेको हो ।
एजुकेशन सिटी संगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिँदा अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे भने बदर बेनोन चुके । तर, मोरक्कोका गोलरक्षक यासिन बाेनाेको उत्कृष्ट प्रदर्शनमा स्पेनका खेलाडीले गोल गर्न सकेनन् ।
स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए । जारी विश्वकपमा पेनाल्टी सुटआउटमा लम्बिएको यो दोस्रो खेल हो ।
यसाघि सोमबार भएको नकआउट चरणको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै साविक उपविजेता क्रोएसियाले अन्तिम आठको यात्रा तय गरेको थियो । अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगलसङ्ग खेल्नेछ ।