कतार । किलीयन एमबाप्पे चम्कँदा फ्रान्स अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको छ । आइतबार भएको खेलमा पोल्याण्डलाई पराजित गर्दै फ्रान्स उपाधि रक्षामा अघि बढेको हो । सहजपुर्ण जितमा फ्रान्स विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार अल थुमामा रंगशालामा भएको खेलमा फ्रान्सले ३–१ गोलको जित हासिल गर्यो । फ्रान्सको जितमा दुवै फरवार्ड ओलिभीएर जिरुड र किलीयन एमबाप्पेले गोल गरे । पहिलो हाफको अन्त्यतिर जिरुडले पहिलो गोल गरेका थिए । दोस्रो हाफमा एमबाप्पेले दुई गोल गर्दे जित पक्का गरेको थिए ।
पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा जिरुडले गोल गरेका हुन् । किलीयन एमबाप्पेको पासलाई पेनाल्टी क्षेत्र भित्र लग्ने क्रममा अफसाइड ट्रयाप बिट गरेका उनले वन भर्सेस वनमा फिनिस गरे । जिरुड ५२ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सका लागि सर्वाधिक गोलकर्ता पनि बने ।
खेलको ७४ औं मिनेटमा एमबाप्पेले फ्रान्सको उत्कृष्ट काउन्टर अट्याकमा अग्रता दोब्बर पारे । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।
इन्ज्युरी समयको पहिलो मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल थपेपछि फ्रान्सले सहज जित पक्का गर्यो । इन्ज्युरी समयको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टी प्राप्त गर्यो । रोबर्ट लेवान्डोस्की उक्त पेनाल्टीको फाइदा उठाउदै सान्त्वना गोल गरे । अब फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्ड खेल्नेछ ।









