
एजेन्सी। दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना अष्ट्रेलियालाई हराउँदै फिफा विश्वकप कतार २०२२ को अन्तिम ८ मा प्रवेश गरेको छ । हमद बिन अली रंगशालामा अर्जेन्टिनाले २–१ को जितका साथ विजयी भएको हो ।
क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग भेट पक्का गरेको छ । कप्तान लिओनल मेस्सीले आफ्नो करिअरको १ हजार खेलमा उत्कृष्ट प्रदर्शनसहित सुरुवाती गोल गरेपछि अर्जेन्टिनाको जित सम्भव भएको थियो ।
अर्जेन्टिनाका लागि दोस्रो हाफमा जुलियन अल्भारेजले गोल थपे । अन्त्यतिर अष्ट्रेलियाले गोल फर्काए पनि नतिजा बदल्न पर्याप्त रहेन ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले सुरुवाती समय रक्षात्मक खेल प्रस्तुत गरेका थिए । निकै समय लिएर आक्रमण गर्ने क्रममा अधिकांश समय बल आफ्नै हाफमा खेलिएको थियो । खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाले मेस्सीको गोलमा सुरुवाती अग्रता बनायो । मेस्सी आफैंले पेनाल्टी क्षेत्र बाहिरबाट पास खेल्दै सुरु गरेको मुभ गोलमा परिणत भयो ।
दोस्रो हाफ सुरु भएपछि अर्जेन्टिनाले मिडफिल्डर गोमेजको स्थानमा डिफेन्डर लिसान्द्रो मार्टिनेज प्रवेश गरायो । विंगब्याकलाई आक्रमणमा प्रयोग गर्दै अर्जेन्टिनाले लगातार बल आफैंसँग राख्ने प्रयास गरेको थियो ।
खेलको ५७ औं मिनेटमा अर्जेन्टिनाले गोलरक्षक म्याट रायनको गल्तीको फाइदा उठाउँदै अग्रता दोब्बर पार्यो ७७ औं मिनेटमा क्रेग गुडविनले अष्ट्रेलियाका लागि गोल फर्काए । यस खेलमा बेन्चमा रहेका उनले मैदान प्रवेश गरेको १५ मिनेटपछि गोल गरे । क्लियर हुन नसकेको बललाई उनले २५ यार्ड टाढाबाट गरेको प्रहार एन्जो फर्नान्डेजलाई लाग्दै गोल भएको थियो ।