१२ मंसिर,एजेन्सी । कोभिड– १९ को नयाँ भेरिअन्ट ओम्रिकन बेलायत, जर्मनी, बेल्जियम र इटलीमा पनि फेला परेको छ । चेक रिपब्लिकमा पनि यो भेरिअन्ट पुगेको आशङ्का गरिएको छ ।
केही दिनअघि दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको यो नयाँ भेरियन्ट बोत्स्वाना र हङ्कङ पनि पाइएको छ । उता इजराइलले पनि ओमिक्रोन भेरिअन्ट पुष्टि भएको भन्दै आइतबार मध्यरातबाट विदेशीहरूलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ ।
समाचार एजेन्सीहरुका अनुसार शनिबार बेलायतका २ जना व्यक्तिमा नयाँ भेरियन्ट फेला परेको छ । दक्षिण अफ्रिकाबाट आएका २ जनामा ओमिक्रोन देखिएको बेलायतका स्वास्थ्यमन्त्री साजिद जाभिदले बताएका हुन् ।
जर्मनीमा पनि नोभेमबर २४ गते दक्षिण अफ्रिकाबाट आएका २ यात्रुमा ओमिक्रोन भेरियन्ट फेला गरेको थियो । इटलीमा पनि मोजाम्बिकबाट फर्किएका एक व्यक्तिमा ओमिक्रोन भेरियन्ट देखिएको छ ।
चेक गणतन्त्रकी एक महिलामा पनि नयाँ ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जनाएको छ ।
दक्षिण अफ्रिकाद्वारा गुनासो
ओमिक्रोन पत्ता लागेको समाचार बाहिर आएलगत्तै कैयौं मुलुकले दक्षिण अफ्रिकी क्षेत्रबाट हुने हवाई उडानमाथि प्रतिबन्ध लगाइसकेका छन् ।
तर दक्षिण अफ्रिकाले भने कोरोनाभाइरसको नयाँ भेरिअन्ट पत्ता लगाएका कारण आफूलाई प्रशंसा गर्नुको साटो दण्डित गरिएको गुनासो गरेको छ ।
विभिन्न राष्ट्रहरूले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएपछि त्यहाँको विदेश मन्त्रालयले यस्तो प्रतिक्रिया व्यक्त गरेको हो ।
प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोनबाट सङ्क्रमण फैलिन सक्ने सम्भावना उच्च छ ।
विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार यो नयाँ भेरिअन्टलाई ‘भेरिअन्ट अफ कन्सर्न’ का रूपमा वर्गीकरण गरेको थियो ।









