
चैत्र २७,
महोत्तरीको गौशालाका एक वडा सचिवले शिक्षक विनोद महतोमाथि विद्यालयमै हातपात गरेपछि न्यायका लागि पत्रकार गुहारेका छन् । त्रिभुवन माध्यमिक विद्यालय गौशालाका अंग्रेजी शिक्षक महतोलाई गौशाला नगरपालिका वडा नम्बर ९ का वडा सचिव उमाकान्त महतोले विद्यालय भित्रै हातपात तथा दुव्र्यहार गरेको उनको आरोप छ ।
पीडकलाई कारवाहीको माग गर्दै पीडित शिक्षक महतोले नेपाल पत्रकार महासंघ महोत्तरीलाई न्यायका लागि पहल गरिदिन अनुरोध पत्र बुझाएका छन् ।
महासंघका अध्यक्ष कमलेश मण्डल र सचिव राजकरण महतोलाई पीडित शिक्षकले जलेश्वर पुगेर न्यायका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
दोषीलाई कारवाही नभएसम्म अनिश्चित कालका लागि शिक्षकहरुले स्कूल बन्द गरेका छन् । कक्षाकोठामा पढाइरहेका शिक्षकलाई वडा सचिवले गाली बेइज्जती गरेको र हातपातको गरेको विरोधमा त्रिभुवन मावि गौशालाका शिक्षकहरूले पठनपाठन बन्द गरी आन्दोलित भएका हुन् ।
कक्षा सञ्चालनको क्रममा अबेला गरी आएका वडा सचिवका बुहारी कक्षा १२ मा अध्ययनरत अर्चना सिंहलाई शिक्षक महतोले कक्षा कोठामा प्रवेश नदिएको भन्दै वडा सचिव महतो र उहाँका भाइ राजेशले शिक्षकमाथि हातपात तथा दुव्र्यहार गरेको विद्यालयले जनाएको छ ।