२३ ,चैत्र महोत्तरी । निर्धालाई मात्रै कानुन लाग्दैंन, बलियालाई पनि सो कानुन लाग्छ । यो सर्वमान्य कुरो हो ।तर, महोत्तरीको मटिहानीका मेयर हरि प्रसाद मण्डलको हकमा माथि उल्लेखित कुरो लागु भएको छैन । किनभने उनी मेयर हुन् । पद, पैसा, पावर र पहुँचको आडमा उनले कानूनलाई मुट्ठीमा लिएको देखिएको छ । कानूनका रखवाला प्रहरी, प्रशासनलाई चाकडी गरेर मेयर मण्डलले मटिहानी नगरक्षेत्रभित्र मच्चाउने आतंककोे विरोध गर्दा टोले गुण्डाहरु लगाएर स्थानीयहरुलार्इृ तह लगाउने गरेका छन् । उनीबाट पीडित भएकाहरुले न्यायका लागि प्रहरी प्रशासनको अड्डा चहार्दा पनि निर्धाका कुरा सुनुवाई नभएको जनगुनासो प्रशस्तै सुन्न पाईन्छ । कुरा गरौं गत दशैंमा मेयर मण्डलको निर्देशन एवं प्रत्यक्ष उपस्थितिमा भएको एउटा अपराधिक घटनाको ।
छुरा घोप्ने राजनिति !
मेयर मण्डलले आफ्नै उपस्थितीमा कुण्डले मुण्डले गुण्डालाई परिचालन गरेर गत दशैंमा स्थानीयमाथि कुटपीट मात्रै होइन् छुरा घोपाउन पनि उनी पछि परेनन् । उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ज्यान मुद्धा दर्ता भएको ६ महिना बित्दा पनि प्रहरी प्रशासनले मेयर मण्डललाई खोरमा थुनेर कारवाही अघि बढाएको छैन ।उनी खुल्लमखुला बाहिर हिडिरहेका छन् । मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलको उपस्थितिमा गत कात्तिक १० गते विजय दशमीको कुटपीट तथा आक्रमणमा परी मटिहानी– ८ का ५७ वर्षीय विजय चौधरी, ४८ वर्षीय जितेन्द्र चौधरी तथा मटिहानी– ७ का ५३ वर्षिय गणेश प्रसाद साह गम्भिर घाइते भएका थिए ।
यसरी भएको थियो घटना ः
मटिहानी–७ मा अवस्थित एक रेष्टुरेन्टमा मेयर मण्डल र बिजय चौधरी पक्षबीच विवाद भएको थियो । नगर प्रमुख मण्डल पक्षधर तथा मटिहानीकै केही स्थानीयहरुको समूह बसेका बेला उनीहरुबीच नगरपालिकाका कामकारवाहीको विषयलाई लिएर ताना भयो ।
विवादले उग्र रुप लिन थालेपछि घटनालाई साम्य पार्न प्रहरीको टोली पुगेको थियो । तर, प्रहरीको टोलीमाथि नै हातपात भएपछि प्रहरीले लाठी चार्ज गरेर दुबैपक्षलाई तितरवितर पारेको प्रत्यक्षदर्शीले बताएका छन् ।
‘अर्कोपक्षले नगरमा विकासभन्दा पनि भ्रष्टाचार मौलाई रहेको भनेपछि मेयर पक्ष उत्तेजनामा आएको थियो,’ प्रत्यक्षदर्शी अमित चौधरीले भने, ‘विवादलाई साम्य पार्न प्रहरीको टोली त पुग्यो तर उल्टै उनीहरु (मेयरका टोले गुण्डाहरु) प्रहरीमाथि नै जाइ लागे।’
लाठीचार्जबाट दुबै पक्षका केही व्यक्ति घाइते भए पनि यसबारे प्रहरीले अनभिज्ञता प्रकट गर्दै आएको छ ।
दुई दिनको उपचारपछि घर फर्केका विजय चौधरीको दाबी अनुसार नगरप्रमुख मण्डल पक्ष र अर्को गुटबीच राति करिब ९ बजे झगडा भएको थियो ।
‘त्यहीबीच प्रहरीको लाठीबाट केही व्यक्ति घाइते भएको थाहा भएपछि घाइतेलाई भेट्न म राति साढे १० बजे पुगेको थिएँ,’ विजय चौधरीले भने, ‘घाइतेलाई भेटेर फर्किंदै गर्दा हामीमाथि नगर प्रमुख मण्डलको उपस्थितिमा सांघातिक आक्रमण भयो।’
नगर प्रमुख सहितको ठूलो समूह गाडीबाट आएर एकाएक गालामा थप्पड हानेको र त्यसपछि शैलेन्द्र मण्डल भन्ने व्यक्तिले आफ्नो घाँटीमा छुरा प्रहार गरेको चौधरीको भनाइ छ । उनी भन्छन्, ‘तर छुरा घाँटीको छेउमा मात्रै लागेकोले म बाँचे ।’
अन्य दुई घाइतेकोे शरीरका विभिन्न भागमा छुरा प्रहार भएकोले उनीहरुको अवस्था सिकिस्त भएको थिए ।
चौधरीले भने, ‘केही दिनदेखि नगरपालिकाका कामबारे वडावडामा जागरण अभियान चलाइरहेको थिएँ । नगर प्रमुख त्यसबाट अत्तालिएर गुण्डा लगाएर आक्रमण गराएका हुनससक्छन् । अरु रिसइबी केही थिएन ।’
यस सन्दर्भमा नगर प्रमुख मण्डलले आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दैै आएको छ । उनले दुई पक्षबीच विवाद भए पनि उक्त घटनामा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् ।
‘घटनामा मेरो कुनै संलग्नता छैन तर पनि विपक्षीहरु राजनीतिक प्रतिशोधका कारण मेरो नाम मुछिरहेका छन्,’ नगरप्रमुख मण्डलले बताउँदै आएका छन्, ‘मेरै पक्षका ६ जना घाइते भएका थिए , यस्तो बेला घटना मैले गराएको भन्नु हास्यास्पद हो ।’
नगर प्रमुख मण्डलले उक्त घटनामा कोही कसैले छुरा प्रहार गरेको नभई दुई पक्षबीच हात हालाहाल मात्रै भएको जिकिर गरे । मेयर पक्षले पनि बिजय चौरधरी सहितमाथि जिल्ला प्रशासनमा अभद्र व्यवहारमा मुद्दा हालेको थियो । अहिले बिजय पक्ष तारिखमा छन् ।
आरोपी मेयरको फूलमाला लगाउँदै प्रहरी प्रशासन
राजनितिक शक्तिको आडमा मेयर मण्डल नगरभरी दादागिरी गर्दै आएका छन् ।तर, प्रहरीप्रशासनले उनलाई कानुनको हतकडी लगाएर ठेगान लगाउन सकेको छैन । बरु ज्यान मुद्दाका आरोपी मेयर मण्डलको हातबाट महोत्तरीका सिडिओ तिर्थराज भट्टराई र एसपी दिनेश आचार्यले गत चैत्र ३ गते परिक्रमाबासीको स्वागतका क्रममा फूलको माला लगाएको दृष्य ताजै छ । ज्यान मुद्दाका आरोपी मेयर मण्डललाई तुरुन्त पक्राउ गरेर घटनाको न्यायिक अनुसन्धान थाल्नु पर्ने हो । तर, एसपीले उल्टै मेयरको सुरक्षामा प्रहरी टोली नै बेलाबेलामा पठाउदैं आएका स्थानीयहरु बताउँछन् । यसैलाई भन्छिन्, सानालाई ऐन, ठूलालाई चैन !
कारवाहीको माग
मेयर मण्डलले शक्तिको दुरुपयोग गर्दै अपराधिक कृयाकलाप गरेको भन्दै तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काँग्रेस पार्टीले कडा भन्दा कडा कानूनी कारबाहीको माँग गर्दै प्रदर्शन समेत गरेका थिए । मेयरको बचाऊमा उनको पार्टी जसपाले प्रदेश नं.२ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश साँसद रानी शर्मा तिवारी, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र, भंगहा नगरपालिकाका मेयर संजीव साह, मनरासिस्वाका मेयर संजय सिंह लगायतका व्यक्तिहरुले प्रदर्शन गरेका थिए ।
फायल अध्ययन गर्दै छु ः सिडिओ
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मेयर मण्डल विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको ६ महिना बितिसक्दा पनि कारबाही किन नभएको ? भन्ने प्रश्नमा महोत्तरीका सिडियो तिर्थराज भटराईले आफू भरखरै जिल्ला आएकोले त्यस मुद्दा सम्बन्धी फायल अध्ययन गरिरहेको बताए ।