निकेश खनाल
चैत्र १० बर्दिवास । महोत्तरी जिल्लाको पत्रकारिकताको इतिहासमै पहिलोपटक नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अध्यक्षमा महिला पत्रकारको दावी परेको छ । जिल्लामा सकृय रुपमा पत्रकारिता गरीरहेकी महिला पत्रकार सुनिता बरालले अध्यक्षको दावी गरेकि हुन् ।
गत शुक्रवार महोत्तरीको गौशालामा बसेको प्रेस संगठन नेपाल महोत्तरीको बैठकले नेपाल पत्रकार महासंघको आसन्न चैत्र २५ गते हुने निर्वाचनमा पत्रकार बराललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रेस संगठन नेपाल महोत्तरीका संयोजक राजकरण महतोले जारी गरेको एक प्रेस विज्ञप्तीमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको अध्यक्षका लागि पत्रकार बराललाई अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मती निर्णय भएको जानकारी दिए ।
वि सं २०६५ सालमा बर्दिबास नगरपालिका वडा नं ३ मा रहेको रेडियो दर्पणमा कार्यक्रम प्रस्तोताबाट पत्रकारिकताको यात्रा तय गरेकी बराल यश पेशामा सक्रिय रहेकै कारण कम उमेरमै जिल्ला अध्यक्ष पदको दाबेदार बनेकी हुन् ।
पत्रकार बराल महोत्तरीको उत्तरी क्षेत्र बर्दिबासमा रहेर सक्रिय पत्रकारिकता गर्ने पत्रकार हुन् । उनले पत्रकारिकता मार्फत समाजका विविध विषयमा देखिएको विकृति र विसंगतिको बारेमा खरो भएर जनतालाइ सुसुचित गराउने गरेकी छिन् । पत्रकार बरालको यस अध्यक्षताको दावीले अब महोत्तरीका महिलाहरु पनि पत्रकारिकताप्रति आर्कषित भएर सकृय रुपमा पत्रकारिकता कर्ममा लागेको बुझिन्छ । उनी पत्रकारीता क्षेत्रका विभिन्न संगठनमा समेत नेतृत्व गर्दै आफुलाई अब्बल साबित गरिसकेकी छिन् । अहिले उनी संचारिका समुह प्रदेश २ को सचिव समेत हुन् । केही वर्षअघिसम्म महोत्तरीमा महिला सदस्यको कोरम पुर्याउन समेत हम्मे , हम्मे पर्ने अवस्थामा पत्रकार बरालको उम्मेदवारी दावीले अन्य महिला पत्रकारहरुलाई समेत आफ्नो हक अधिकार माँग्न थप प्रेरणा र उर्जा मिलेको छ । यद्यपि उनको अध्यक्षको पद अन्तिम नोमिनेशनमा पर्छ या पर्दैन यसबारे आधिकारिक निर्णय हुन भने बाँकी नै छ ।