७ मंसिर, काठमाडौं । आईसीसी महिला टी(२० विश्वकप छनोटको दोस्रो खेलमा नेपालले सानदार जित हासिल गरेको छ।
एशिया क्षेत्रको छनोट अन्तर्गत मंगलबार दुबईमा भएको खेलमा बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको हो। भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८।३ ओभरमै पूरा गरेको छ।
नेपालका लागि इन्दु बर्माले १८, सीता राना मगरले १७, रुबिना क्षेत्रीले १० र कविता जोशीले आठ रन बनाइन्। भुटानका लागि टासी चेकीले एक विकेट लिइन्।
यसअघि टस जितेर ब्याटिङ गरेको भुटानले ६ विकेटको क्षतिमा ६१ रन मात्रै बनाउन सक्यो। भुटानका लागि प्रारम्भीक खेलाडी नवाङ छोदेनले १३ र सोनाम पाल्दोनले ११ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि सीता राना मगरले तीन र करुणा भण्डारीले एक विकेट लिइन्।
नेपालले अर्को खेल बिहीबार कुवेतसँग खेल्नेछ। पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको थियो।



















