प्रदेश २ मा एमालेभन्दा ठूलो दल बन्यो एकीकृत समाजवादी


१८ भदौ, जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी संसदमा एमालेभन्दा ठूलो दल बनेको छ।

प्रदेश सभामा एमालेका २१ सांसद थिए। तीमध्ये ११ जनाले बिहीबार एकीकृत समाजवादी का पक्षमा सनाखत गरेपछि एमाले १० सिटमा खुम्चिएको हो।

जनकुपरस्थित निर्वाचन आयोगको कार्यालयमा १० जना उपस्थित भएर समाजवादीको पक्षमा सनाखत गरेका थिए भने दिल्लीमा उपचाररत सांसद डिल्लीप्रसाद उप्रेतीले राजदूतावासमार्फत् चिठी पठाएर समाजवादीका पक्षमा सनाखत गरेका थिए।

प्रदेश सांसदहरू शत्रुधन महतो, मञ्जु यादव, चन्द्रसेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले एकीकृत समाजवादी रोजेको सांसद रविन्द्र बैठाले जानकारी दिए।

बैठाका अनुसार यसअघि नेपाल समूहमा खुलेका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले सनाखत गरेका छैनन्।

सत्यनारायण मण्डल, त्रिलोकीप्रसाद, अनिता यादव, मनोजकुमार सिंह, शारदादेवी थापा, किशोरी साह कमल, लगनलाल चौधरी र जगतारैणदेवी सुँडीले मूल पार्टीमै रहने निर्णय गरेका छन्। सांसद विश्वकर्मा र गुरुङ बिहीबार एमालेको कार्यक्रममा सहभागी भएका थिए।

सांसद महतोले विश्वकर्मा र गुरुङले तोकिएको म्याद भदौ २२ भित्र एकीकृत समाजवादीमै आएर सनाखत गर्ने गर्ने दाबी गरेका छन्।

एमालेको प्रदेशस्तरीय कार्यक्रममा बिहीबार दुबै सहभागी भएकाले महतोको दाबीअनुसार उनीहरू नयाँ पार्टीमा नजाने एमाले सांसद सत्यनारायण मण्डलले बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको