१२ भदौ,काठमाडौं । स्पेनिश ला(लिगा अन्तर्गत शुक्रवार राति भएको खेलमा भ्यालेन्सियाले डिपोर्टिभो आलाभेसलाई ३(० गोलले पराजित गरेको छ।
भ्यालेन्सियाको घरेलु मैदान मेसटालामा भएको खेलमा घरेलु टोलीले पहिलो हाफको तेस्रो मिनेटमै अग्रता लिएको थियो। भ्यालेन्सियाका लागि मिडफिल्डर ड्यानियल वासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा भ्यालेन्सियाले अग्रता दोब्बर बनायो। यस पटक अर्का मिडफिल्डर कार्लोस सोलरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए।
पहिलो हाफमा दुई गोलको अग्रता लिएको भ्यालेन्सियाले दोस्रो हाफमा अर्को गोल थप्यो। खेलको ६०औं मिनेटमा स्ट्राइकर गोन्जालो गुवेडेसले गोल गर्दै भ्यालेन्सियाको सहज जित सुनिश्चित गरे।
यस जितसँगै भ्यालेन्सियाले सन् २०२१र२२ सिजनको तीन खेलमा दुई जित निकाल्न सफल भएको छ। उता आलाभेस भने अंक तालिकाको पुछारमा रहेको छ।



















