थारु संस्कृति तथा पर्यटन केन्द्रको भवन उद्घाटन


महोत्तरी – मिथलेश सिंह । थारु समुदायको मौलिक भाषा, कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्तरीको भंगहा नगरपालिका-७ मा थारु संस्कृति तथा पर्यटन केन्द्रको भवन निर्माण गरिएको छ । बाबा तपसी तरसरी कुट्टीको छेउमा निर्माण गरिएको उक्त भवनको मंगलबार उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने मूल नारासहित निर्माण गरिएको भवनको उद्घाटन केन्द्रका परिकल्पनाकार तथा संरक्षक इन्जिनियर सुदीपकुमार चौधरी र डा. निता चौधरीले संयुक्त रूपमा गर्नुभयो । भवन निर्माणका लागि संरक्षकद्वयले व्यक्तिगत रूपमा ८७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको केन्द्रका अध्यक्ष रामनारायण चौधरीले जानकारी दिनुभयो ।

थारु समुदायको मौलिक पहिचान, भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार नवनिर्मित भवनलाई थारु समुदायका सांस्कृतिक गतिविधि, भाषा, कला, परम्परा तथा सामाजिक रीतिरिवाजको संरक्षण र प्रवर्द्धन गर्ने साझा थलोका रूपमा विकास गरिनेछ ।

भवन निर्माणले थारु समुदायको सांस्कृतिक पहिचान उजागर गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्यसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । केन्द्रले थारु सांस्कृतिक सम्पदाको संरक्षणसँगै स्थानीय कला, परम्परा र सांस्कृतिक विविधताको प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

भवन उद्घाटनको अवसरमा मंगलबारदेखि केन्द्र परिसरमा दुईदिने सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ । कार्यक्रमअन्तर्गत बुधबार स्थानीय विभिन्न समुदायले मनाउँदै आएको सामाचकेवा पर्वको विशेष प्रदर्शन गरिने केन्द्रका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

भवनमा राखिएको सिलालेखअनुसार थारु संस्कृति तथा पर्यटन केन्द्र, तपसी तरसरी बाबा कुट्टी, भंगहा नगरपालिका-७, महोत्तरी, मधेश प्रदेशमा निर्माण गरिएको उक्त भवनको समुद्घाटन २०८३ साल मंसिर ८ गते सम्पन्न भएको हो । भवन निर्माणमा योगदान पुर्‍याउने संरक्षकद्वयलाई समुदायले सांस्कृतिक संरक्षणका लागि महत्त्वपूर्ण योगदानकर्ताका रूपमा सम्मान गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको