लहान । तिहार, छठ, विवाह तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रममा फूलको माग बढ्दै गएपछि सिराहामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ । बढ्दो माग र राम्रो आम्दानीको सम्भावनाले जिल्लाका किसान व्यावसायिक फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् ।
विशेषगरी तिहार र छठ पर्वलाई लक्षित गरी लहान, धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा सयपत्री फूलको खेती विस्तार भइरहेको नर्सरी व्यवसायी सङ्घ सिराहाका अध्यक्ष सुरेश महतोले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा करिब तीन दर्जन नर्सरी व्यवसायीले सयपत्री फूलको खेती गर्दै आएका छन् । उनीहरूको उत्पादनबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ । बजारको अभाव नरहेको र तुलनात्मक रूपमा कम लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले यस खेतीप्रति आकर्षण बढेको उहाँको भनाइ छ ।
सिराहामा नर्सरी व्यवसायको सुरुवात गर्ने व्यक्तिका रूपमा धनगढीमाई नगरपालिका–१०, जिरोमाइलस्थित श्रीदेव नर्सरीका सञ्चालक स्वर्गीय श्रीदेव चौधरीलाई लिने गरिन्छ । उहाँकै प्रेरणाबाट जिल्लामा नर्सरी तथा फूलखेती विस्तार भएको भतिजा एवं कपिलदेव नर्सरीका सञ्चालक रामकुमार चौधरीले बताउनुभयो ।
उहाँका अनुसार सिराहामा हाल करिब २० बिघा क्षेत्रफलमा सयपत्री फूलको खेती भइरहेको छ । एक कठ्ठामा करिब १० हजार रुपैयाँ लगानी गर्दा ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । थोरै जग्गा भएका किसानले पनि तरकारी खेतीसँगै दुई–चार कठ्ठामा सयपत्री लगाएर परिवारको आम्दानी बढाउन थालेका छन् ।
यस वर्ष तिहार नजिकिँदै गर्दा फूल टिप्ने तयारी भइरहेका बेला अर्नभ चक्रवातका कारण भएको वर्षाले खेतमा लगाएका सयपत्रीका बोट ढलेर क्षति पुगेको श्रीदेव नर्सरीकी सञ्चालिका पुनमकुमारी चौधरी बछारले बताउनुभयो ।
उहाँले ससुराको पालामा फलफूलको नर्सरी व्यवसाय मात्रै सञ्चालन हुँदै आएकोमा उहाँको निधनपछि सयपत्री फूल र ड्रागन फ्रुटको खेतीसमेत सुरु गरिएको जानकारी दिनुभयो ।
जिल्लामा फूलखेती विस्तार भइरहे पनि किसानलाई माटो परीक्षण, आवश्यक तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउन स्थानीय तहका कृषि शाखाले ध्यान दिनुपर्ने नर्सरी व्यवसायी रामपरीक्षण महतोले बताउनुभयो । पालिकाहरूले नर्सरी, फलफूल तथा सयपत्री खेती प्रवर्द्धनका लागि आवश्यक नीति र कार्यक्रम ल्याउन सके रोजगारीका थप अवसर सिर्जना हुने उहाँको भनाइ छ ।
उहाँका अनुसार सिराहाका विभिन्न नर्सरीमा दुई सयभन्दा बढी कृषि मजदुरले वर्षभरि रोजगारी पाएका छन् । जिल्लामा उत्पादित फलफूल काठमाडौं, जनकपुर, पोखरा र राजविराजलगायतका बजारमा आपूर्ति हुँदै आएको छ । स्वदेशमै सयपत्री फूलको उत्पादन बढेपछि भारतीय बजारबाट हुने फूलको आयातसमेत पूर्ण रूपमा बन्द भएको उहाँले दाबी गर्नुभयो ।











