पर्सा । पर्साको धोबिनी गाउँपालिका-५ धोबिनीमा घरमा चोरी गरी एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धोबिनी गाउँपालिका-५ का १८ वर्षीय चन्दनकुमार पटेल, १८ वर्षीय राजकपुर बैठा र १८ वर्षीय रामु पासवान रहेका छन्।
गत आइतबार राति धोबिनीका श्रीनिवास साह तुराहाको घरमा नगद तथा गरगहना चोरी भएको थियो। सोही क्रममा उनकी ६२ वर्षीया पत्नी लखरजिया देवीको हत्या भएको थियो। सोमबार बिहान लखरजिया देवी आफू सुतेकै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। कोठामा रहेको स्टिलको दराज र टिनको बाक्साको ताल्चा फुटाइएको अवस्थामा भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका तीनै जनाले चोरी गर्ने योजना बनाएको खुलेको छ। प्रहरीका अनुसार असोज ४ गते आइतबार राति करिब ११ बजे उनीहरूले बैठाको घरमा गाँजा सेवन गरी लखरजिया देवीको घरमा चोरी गर्ने योजना बनाएका थिए।
योजना बनाएपछि उनीहरू घरको पछाडिको पर्खाल हुँदै माथिल्लो तलामा पुगेका थिए। झ्यालबाट घरभित्र प्रवेश गरी स्टिलको दराज तोडेर नगद तथा गरगहना चोरी गरेपछि अन्य कोठामा रहेको टिनको बाक्साको ताल्चा फुटाउँदै गर्दा तोडफोडको आवाजले लखरजिया देवी ब्युँझिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार लखरजिया देवी माथिल्लो तलामा पुगेपछि उनीहरूले फलामको धारिलो वस्तुले प्रहार गरी हत्या गरेको र त्यसपछि नगद तथा गरगहना लिएर फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पटेललाई शुक्रबार वीरगन्जबाट तथा बैठा र पासवानलाई शनिबार धोबिनी गाउँपालिकाबाट पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूको साथबाट चोरी भएको नगद तथा सुनका गरगहनाका साथै गाडीको स्प्रिङ पत्ता एक थान, पिलास एक थान र चक्कु एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखी जिल्ला अदालत पर्साबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।











