भंगाहामा ६० दिने एसी, कुलर तथा फ्रिज मर्मत तालिम सम्पन्न


महोत्तरी । भंगाहा नगरपालिकामा ६० दिने एसी, कुलर तथा रेफ्रिजेरेटर मर्मतसम्बन्धी सीपमूलक तालिम सम्पन्न भएको छ। AEIN को साझेदारी, भंगाहा नगरपालिकाको समन्वय तथा ROYM-Nepal को आयोजनामा सञ्चालित रूपान्तरण परियोजनाअन्तर्गत तालिम आयोजना गरिएको हो।

भंगाहा नगरपालिका–३ र ५ का १८ जना युवाको सहभागितामा सञ्चालित तालिम २०८३ भदौ १२ गते (२८ अगस्ट २०२६) देखि असोज ९ गते (२५ सेप्टेम्बर २०२६) सम्म सञ्चालन भएको थियो।

तालिमको मुख्य उद्देश्य स्थानीय युवालाई एसी, कुलर तथा रेफ्रिजेरेटर मर्मतसम्बन्धी आवश्यक प्राविधिक ज्ञान तथा व्यावहारिक सीप प्रदान गरी स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्न सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ।

तालिमको समापन कार्यक्रमको अध्यक्षता भंगाहा नगरपालिकाकी उपप्रमुख शान्तिदेवी सिंहले गर्नुभएको थियो। कार्यक्रममा नगर प्रमुख सञ्जीवकुमार साह प्रमुख अतिथि तथा लेखा अधिकृत रामसागर विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा तालिममा सहभागी युवा, प्रशिक्षक तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो। सहभागी युवालाई तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा प्रयोग गर्दै आत्मनिर्भर बन्न अतिथिहरूले शुभकामना दिएका थिए।

नगर प्रमुख साहले सहभागी युवालाई थप दक्ष बनाउन आवश्यक ‘एडभान्स्ड लेभल’ तालिमका लागि स्थानीय तहबाट आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। युवाको व्यावहारिक सीपलाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण तथा टुल्स उपलब्ध गराउन समेत सहयोग गर्ने उहाँले बताउनुभयो।

तालिममा सहभागी युवाहरूले प्राप्त प्राविधिक ज्ञान तथा सीपले रोजगारी र स्वरोजगारका क्षेत्रमा अघि बढ्न महत्वपूर्ण सहयोग पुग्ने बताएका थिए।

आयोजकका अनुसार तालिम सञ्चालन तथा समापनका लागि समन्वय, सहयोग र सहजीकरण गर्ने भंगाहा नगरपालिका, AEIN, ROYM-Nepal, प्रशिक्षक तथा सहभागी युवाप्रति आभार व्यक्त गरिएको छ।

तालिमबाट प्राप्त सीपलाई सहभागी युवाले व्यावहारिक रूपमा प्रयोग गर्दै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्नुका साथै स्थानीयस्तरमै दक्ष जनशक्ति विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको