पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई आइतबार बिहान काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको हो।

अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले जबरालाई पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ। यद्यपि, उनीविरुद्ध लगाइएको कसुरबारे प्रहरीले तत्काल केही खुलाएको छैन।

तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। उनीमाथि विभिन्न २१ वटा अभियोग लगाइएको थियो। तत्कालीन संसदले महाअभियोगको प्रक्रिया टुंगोमा पुर्‍याउन सकेन।

को हुन् चोलेन्द्र शम्शेर जबरा?

चोलेन्द्र शम्शेर जबरा राणा परिवारका सदस्य हुन्। उनी राणा प्रधानमन्त्री वीरशम्शेर जबराका चौथो पुस्ताका सन्तान तथा वीरशम्शेरका छोरा इन्द्रशम्शेरका नाति हुन्। उनका बाबु युवराज शम्शेर तत्कालीन राजसभा स्थायी समितिका सदस्य थिए।

वकालत पेसामा रहेका जबरा २०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए। लामो समय अस्थायी न्यायाधीशका रूपमा काम गरेका उनी पछि विशेष अदालतको सदस्यसमेत बने।

पुनरावेदन अदालत बुटवलको कायममुकायम मुख्य न्यायाधीश रहेका बेला उनी २०७१ सालमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। त्यसपछि २०७५ पुस १८ गते उनले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।

प्रधानन्यायाधीशका रूपमा कार्यरत रहँदा उनी विभिन्न विवादमा मुछिएका थिए। उनीविरुद्ध कानुन व्यवसायीहरूले आन्दोलनसमेत गरेका थिए। २०७८ सालमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।

हाल उनी पक्राउ परे पनि पक्राउको आधार र उनीविरुद्धको कसुरबारे सम्बन्धित निकायबाट विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको