काठमाडौं । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले निजी सञ्चारमाध्यमप्रति सरकारले लिएका पछिल्ला नीति तथा निर्णय सच्याउन माग गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पन्तले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन वितरणमा लगाइएको रोक तथा लोककल्याणकारी विज्ञापनमा गरिएको कटौतीजस्ता निर्णयले सञ्चारमाध्यम समस्यामा परेको बताएका हुन्।
निजी सञ्चारमाध्यमप्रति सरकारका पछिल्ला निर्णयप्रति असहमति जनाउँदै उनले पत्रकारहरू आफ्ना पेशागत हकहित र माग लिएर सडकमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताए।
सरकारले स्वरोजगारमूलक तथा साना लगानीका सञ्चारमाध्यमलाई राहतस्वरूप उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेको, राष्ट्रिय समाचार समितिले विज्ञापन शुल्कमा अस्वाभाविक वृद्धि गरेको तथा निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन वितरणमा रोक लगाएको विषयले समग्र सञ्चार क्षेत्रमा गम्भीर असर पारेको उनको भनाइ छ।
सरकारका यस्ता नीति तथा निर्णयले लोकतन्त्रको मेरुदण्डका रूपमा रहेका स्वतन्त्र सञ्चारमाध्यमलाई सबल बनाउनुको सट्टा थप समस्यामा पारेको सांसद पन्तले बताए।
उनले आन्दोलनरत नेपाल पत्रकार महासंघलगायत सम्बद्ध संघसंस्थासँग अविलम्ब संवाद गरी जायज माग यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।










