नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतको बहराइचबाट लागूऔषध खैरो हेरोइन संकलन गरी लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहको निगरानी गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले २०८३ साल असोज ६ गते राति करिब १०ः४५ बजे नेपालगञ्ज उपमहानगरपालिका-१४ स्थितमा भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका एक व्यक्तिलाई शंकास्पद लागेपछि रोक्न खोजेको थियो।
प्रहरीका अनुसार रोक्न संकेत गर्दा पनि मोटरसाइकल नरोकी भागेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि भाग्न खोजेपछि मोटरसाइकलको टायरमा दुई राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएर खानतलासी गर्दा भारतको उत्तर प्रदेश, बहराइच जिल्ला, रुपैडिया थाना, चकिया रोड ठेगाना भएका २४ वर्षीय नदिम राईको साथबाट १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले राईको साथबाट भारतीय नम्बर प्लेट UP40J0657 को मोटरसाइकल र एक थान मोबाइलसमेत बरामद गरेको छ।
पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार खैरो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई कसुरको प्रकृतिअनुसार १५ वर्षदेखि जन्मकैदसम्मको सजाय तथा ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको ब्युरोले जनाएको छ।










