जनमत पार्टीको राष्ट्रिय उपाध्यक्षमा २८ वर्षीया अनिता मण्डलको उम्मेदवारी


जनकपुरधाम । जनमत पार्टीकी राष्ट्रिय सचिव तथा युवा नेतृ अनिता कुमारी मण्डलले पार्टीको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनअन्तर्गत मण्डलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी हुन्। आगामी असोज ९ र १० गते वीरगञ्जमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय कार्यसमिति चयन हुँदैछ।

२८ वर्षीया मण्डल जनमत पार्टीकी संस्थापक केन्द्रीय सदस्यसमेत हुन्। उनी हाल पार्टीको राष्ट्रिय सचिव तथा केन्द्रीय अनुशासन समितिकी सदस्य सचिवको जिम्मेवारीमा छिन्।

पार्टीको आन्तरिक तयारी तथा विभिन्न नेताहरूसँगको छलफलपछि आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको मण्डलले बताएकी छन्।

पार्टीभित्र युवा तथा महिलाको समर्थन रहेको दाबी गर्दै मण्डलले उपाध्यक्ष पदको निर्वाचनमा आफू विजयी हुने विश्वास व्यक्त गरेकी छन्। संगठन निर्माण तथा अनुशासन समितिमा रहेर काम गर्दै आएको अनुभवका आधारमा पार्टीमा थप भूमिका निर्वाह गर्ने उद्देश्यले उम्मेदवारी दिएको उनको भनाइ छ।

जनमत पार्टीको दोस्रो महाधिवेशनका लागि सात उपाध्यक्ष पदमा १४ जनाको उम्मेदवारी परेको प्रारम्भिक सूचीमा मण्डलको नामसमेत रहेको छ। अध्यक्ष पदमा भने डा. सीके राउतको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन्।

महाधिवेशन असोज ९ र १० गते वीरगञ्जमा हुनेछ। उपाध्यक्षसहित अन्य पदमा आवश्यकताभन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन प्रक्रिया अघि बढेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको