महोत्तरीको बर्दिबासमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ९औँ महाधिवेशन हुने


बर्दिबास, महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबास नगरपालिकामा आयोजना हुने भएको छ ।

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरका अनुसार भदौ २५ गते बसेको सचिवालय बैठकले महाधिवेशन बर्दिबासमा आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका अनुसार महाधिवेशनमा देशभरबाट करिब १ हजार ५ सयदेखि १ हजार ८ सय जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । राष्ट्रियस्तरका चर्चित कलाकारहरूको समेत उल्लेख्य उपस्थिति रहने प्रतिष्ठानले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनलाई सांगठनिक गतिविधिसँगै सांगीतिक तथा सांस्कृतिक जमघटका रूपमा समेत अघि बढाइनेछ ।

यस्तो राष्ट्रियस्तरको कार्यक्रम बर्दिबासमा आयोजना हुनुले यहाँको पर्यटन प्रवर्द्धनसँगै होटल तथा रेस्टुरेन्ट, यातायात, स्थानीय बजार र अन्य व्यवसायिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । साथै, देशभरबाट आउने प्रतिनिधि तथा कलाकारमार्फत बर्दिबासको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावना राष्ट्रियस्तरमा प्रचार हुने अवसरका रूपमा समेत यसलाई हेरिएको छ ।

महाधिवेशनलाई बर्दिबासको पर्यटन, व्यापार तथा सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्न स्थानीयवासी, व्यवसायी र सरोकारवाला सबैले सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको