औरही नगरप्रमुख खड्कामाथि कार्यालयमै हातपातको प्रयास, अत्यावश्यकबाहेक सेवा ठप्प


महोत्तरी। महोत्तरीको औरही नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार खड्कामाथि कार्यालय परिसरमै हातपातको प्रयास भएको छ।

नगरप्रमुख खड्काका अनुसार बुधबार बिहान करिब ११ः३० बजे केही व्यक्ति नगरपालिका कार्यालय परिसरमा प्रवेश गरी हुलहुज्जत गर्दै आफूमाथि हातपातको प्रयास गरेका हुन्।

घटनाका क्रममा जनप्रतिनिधि तथा कर्मचारीमाथि समेत अभद्र व्यवहार र हातपात भएको नगरप्रमुख खड्काको दाबी छ। घटनापछि पत्रकार सम्मेलन गर्दै उनले हुलहुज्जत, तोडफोड, हातपात तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने कार्य स्वीकार्य नहुने बताए।

घटनामा संलग्न व्यक्तिहरूको निष्पक्ष पहिचान तथा अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न नगरप्रमुख खड्काले सुरक्षा तथा प्रशासनिक निकायसँग माग गरेका छन्। साथै, तोडफोडबाट भएको सार्वजनिक सम्पत्तिको क्षति सम्बन्धित पक्षबाट असुल तथा भरपाई गराउनसमेत उनले आग्रह गरेका छन्।

घटनापछि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

कर्मचारी तथा जनप्रतिनिधिको सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा प्रवाह बन्द रहने नगरप्रमुख खड्काले बताएका छन्।

नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पूर्ण सुरक्षा सुनिश्चित गरी निर्भय वातावरणमा सेवा प्रवाह गर्ने अवस्था सिर्जना गर्न उनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको