बारा । सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या प्रकरणमा मुख्य प्रतिवादीका रूपमा अभियोग लगाइएका प्रोग्रेश भनिने पुरग्रेश चौधरीलाई बारा जिल्ला अदालतले २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बिहीबार जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले चौधरीलाई २० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत पेस गरी मुद्दाको पुर्पक्षका लागि तारिखमा राख्ने आदेश दिएको हो। तोकिएको धरौटी वा जमानत दिन नसके कानुनबमोजिम थुनामा राख्न अदालतले आदेश दिएको छ।
अदालतको आदेशमा चौधरी घटनामा संलग्न छैनन् भन्न सकिने अवस्था तत्काल प्राप्त प्रमाणबाट नदेखिएको उल्लेख छ। जाहेरी, घटनास्थलसम्बन्धी कागजात, विभिन्न व्यक्तिले दिएको घटनाविवरण तथा बालिकाको शव भेटिएको घरमा चौधरीले विद्युत् लाइन जडान गरेको स्वीकार गरेको विषयलाई अदालतले तत्काल प्राप्त प्रमाणका रूपमा लिएको छ।
तर, उपलब्ध प्रमाणका आधारमा चौधरीलाई तत्काल थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था भने नदेखिएको अदालतको ठहर छ। त्यसैका आधारमा उनलाई धरौटीमा तारिखमा राख्ने आदेश भएको हो। मुद्दाको क्रममा थप प्रमाण बुझ्दै जाँदा कानुनबमोजिम निर्णय हुने अदालतले जनाएको छ।
प्रकरणमा अभियोग लागेका इन्द्रजीत चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नविन वि।क।, टेकबहादुर थापा मगर, शेष हस्मुदिन आलम भनिने शेष हस्मुदिन, सविता चौधरी र बिन्दु चौधरी भनिने बिन्दु देवी चौधरीलाई भने अदालतले साधारण तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ।
अदालतका अनुसार उनीहरूले आरोपित कसुरमा इन्कार गर्दै बयान दिएका छन्। उनीहरू मुख्य कसुरमा सहयोगी रहेको वा प्रमाण लोप गरेको पुष्टि हुने तत्काल प्राप्त पर्याप्त प्रमाण मिसिलमा नदेखिएको भन्दै धरौटीसमेत नमागी साधारण तारिखमा राखिएको हो।
बालिकाको परिवारले भने यी प्रतिवादीहरूसमेतको मिलेमतोमा बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएर जबरजस्ती करणीपछि हत्या गरिएको आरोप लगाउँदै जाहेरी दिएको थियो।
अदालतले उपलब्ध प्रमाणका आधारमा हालका लागि प्रतिवादीहरूका हकमा फरक–फरक आदेश गरेको भए पनि मुद्दाको अन्तिम फैसला भने थप प्रमाण र सुनुवाइपछि मात्रै हुने स्पष्ट पारेको छ।
यसैबीच, प्रकरणमा फरार रहेका प्रतिवादीहरूको हकमा कानुनबमोजिम म्याद जारी गरी आवश्यक कारबाही अघि बढाउन पनि अदालतले आदेश दिएको छ।










