बारा। बाराको अमलेखगञ्जबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का १९ वर्षीय आनन्द चौरसिया रहेका छन्।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले चौरसियालाई १८ हजार ३२० पिस ट्रामाडोलसहित पक्राउ गरेको हो।
राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बसमा सवार चौरसियाको झोलाबाट लागूऔषध बरामद भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो।
पक्राउ परेका चौरसियाविरुद्ध लागूऔषध कसुरमा बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता घलेले बताउनुभयो।










