काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन चीनले नेपालसँग आपतकालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ।
चिनियाँ दूतावासका अनुसार उक्त सूचनामा नदीमा बनेका अवरोध ९ब्यारियर० तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत समेटिनेछ।
चीनका मौसमसम्बन्धी अधिकारीहरूले चीन–नेपाल केरुङ–रसुवा सीमा क्षेत्रमा भएको भीषण पहिरोपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा मौसमजन्य घटनाको प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएका छन्।
विपद्पछि चीनको मौसम प्रशासनले तत्कालै नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्शसमेत गरेको थियो।
नेपालमा बाढी तथा पहिरोका कारण उत्पन्न जोखिम न्यूनीकरण, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले चीनले जलविज्ञान तथा मौसमसम्बन्धी सूचना आदानप्रदानलाई निरन्तरता दिने जनाएको हो।









