पर्सा। पर्साको जगरनाथपुर गाउँपालिका-४ बाट पाँच महिनाअघि बरामद भएको गाँजासहितको ट्याक्टर प्रकरणमा प्रहरीले एक जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ।
प्रहरीले पटेर्वासुगौली गाउँपालिका-१ सोनवर्षाका हयात अन्सारीलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको हो। उनलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले गत शुक्रबार पक्राउ गरी सोही कार्यालयमा राखेको छ।
गत फागुन २६ गते प्रहरीले जगरनाथपुर गाउँपालिका-४ बाट २ सय १३ किलो गाँजासहित मे १ त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो। त्यसबेला ट्याक्टर चालक तथा गाँजा कारोबारीहरू फरार भएकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको थियो।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीका अनुसार बरामद ट्याक्टरको धनी खोजी तथा अनुसन्धानका क्रममा अन्सारीलाई नियन्त्रणमा लिइएको हो। ट्याक्टरको वास्तविक धनी खुल्न बाँकी रहेकाले यातायात व्यवस्था कार्यालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।
प्रहरी स्रोतका अनुसार मकवानपुरको मनहरीका एक गाँजा कारोबारीलाई लेनदेन विवादमा सोनवर्षाका समसुल र हयातलगायत व्यक्तिले केही दिनदेखि सोनवर्षामा राखेको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरी टोलीले ती व्यक्तिलाई उद्धार गरी उनकी श्रीमतीको जिम्मा लगाएर घर पठाएको जनाएको छ।
प्रहरी निरीक्षक अधिकारीले उक्त घटना अपहरण वा बन्धक बनाएको नभई लेनदेन विवादसँग सम्बन्धित रहेको बताउनुभयो। उहाँका अनुसार ती व्यक्तिलाई सोनवर्षास्थित एक कुखुरा फार्ममा राखिएको अवस्थामा उद्धार गरिएको थियो।
प्रहरीका अनुसार मकवानपुरको पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा तथा चरेस पर्सा राष्ट्रिय निकुञ्जको बाटो हुँदै पर्साका सोनवर्षा, सुवर्णपुर, विजयबस्ती लगायत क्षेत्रमा ल्याएर भण्डारण गर्ने गरिएको छ। त्यसपछि रातको समयमा मोटरसाइकल तथा ट्याक्टरमार्फत भारततर्फ लैजाने गरेको आशंका गरिएको छ।
स्थानीयका अनुसार पटेर्वासुगौली गाउँपालिकाको रंगपुरगादी र सोनवर्षा क्षेत्रमा गाँजा कारोबारमा संलग्न व्यक्तिहरूको जमघट हुने तथा आर्थिक लेनदेनसमेत हुने गरेको बताइएको छ। प्रहरीले ट्याक्टर प्रकरणसँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जनाएको छ।









