वीरगन्ज। वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका-४ का २४ वर्षीय सम्साद देवान र बिन्दवासनी गाउँपालिका-५ का २२ वर्षीय सनप्राज शेख रहेका छन्।
प्रहरीका अनुसार आइतबार भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको ‘अनटेष्ट’ नम्बर प्लेटको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका-१५ स्थित सडकमा रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलमा सवार दुवै जनाको साथबाट ५०.७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
ब्राउन सुगर र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।









