बर्दिबास । खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै जाँदा बर्दिबासका होटल व्यवसाय प्रभावित हुन थालेका छन्। ग्यास डिलरले मागअनुसार आपूर्ति गर्न नसकेको बताइरहेका छन् भने होटल व्यवसायीले समयमा र आवश्यकताअनुसार ग्यास नपाउँदा व्यवसाय सञ्चालनमा समस्या परेको गुनासो गरेका छन्।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अनुसार बर्दिबास उद्योग वाणिज्य संघमा साना-ठूला गरी करिब २६० होटल दर्ता छन्। ती होटलका लागि दैनिक १०० भन्दा बढी सिलिन्डर ग्यास आवश्यक पर्ने भए पनि मागअनुसार आपूर्ति हुन नसक्दा समस्या बढेको व्यवसायीको भनाइ छ।
संघका अध्यक्ष गुञ्ज कार्की (गोपाल) का अनुसार ग्यास खपतका आधारमा बर्दिबासका होटललाई तीन वर्गमा विभाजन गर्न सकिन्छ। पहिलो वर्गका १० वटा होटललाई दैनिक करिब ५० सिलिन्डर, दोस्रो वर्गका २० वटा होटललाई दैनिक २० सिलिन्डर तथा बाँकी होटललाई सातामा १२० सिलिन्डरभन्दा बढी ग्यास आवश्यक पर्ने उहाँले बताउनुभयो।
“बर्दिबासमा मात्रै होटल व्यवसाय सञ्चालन गर्न सातामा औसत ७०० सिलिन्डर ग्यास आवश्यक पर्छ। खोजेको बेला नपाउँदा होटल व्यवसायीले अनावश्यक हैरानी खेप्नु परेको छ,” कार्कीले भन्नुभयो।
बर्दिबास–३ गौरीडाँडास्थित खुकुरी होटलका सञ्चालक विनोद थापाले ग्यास अभावले होटल सञ्चालनमा थप समस्या सिर्जना गरेको बताउनुभयो। दैवीप्रकोप, आन्दोलन, बन्द–हडताल तथा बढ्दो महँगीका कारण समस्यामा परेको व्यवसायलाई ग्यास अभावले थप मारमा पारेको उहाँको भनाइ छ।
“मेरो होटलमा दैनिक एकदेखि डेढ सिलिन्डर आवश्यक पर्छ। छिटो भनेको तीन दिनमा एउटा सिलिन्डर दिन्छन्। हामीले गरिखाने कि होटल चलाउने, समय र श्रम ग्यासकै लागि खर्च गर्ने?” थापाले भन्नुभयो।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका महासचिव नारायण घिमिरेले ग्यास अभाव समयसँगै समाधान हुनुको साटो झन् बढ्दै जानुको कारण खोज्नुपर्ने बताउनुभयो। साउन महिना र वर्षाको मौसम भएकाले होटल व्यवसायका लागि अहिले अफ सिजन भए पनि यही समयमा इन्धनको अभाव हुनु चिन्ताजनक रहेको उहाँको भनाइ छ।
“अहिलेसम्म चुल्हो नै बन्द हुने अवस्था त छैन। तर होटल व्यवसायी भने सन्त्रासमा छन्। यो अभाव लम्बिँदै गयो भने ग्यासको विकल्पमा के गर्ने भन्ने स्पष्ट छैन,” घिमिरेले भन्नुभयो।
व्यवसायीका अनुसार तत्काल विद्युतीय चुल्होमा निर्भर हुने अवस्था पनि सहज छैन। बर्दिबास वितरण केन्द्रको अनियमित विद्युत् सेवा, भोल्टेजको समस्या तथा अघोषित विद्युत् कटौतीका कारण विद्युतीय उपकरण प्रयोग गर्न कठिनाइ हुने उनीहरूको भनाइ छ।
यता, बर्दिबासका ग्यास डिलरले भने होटल व्यवसायीलाई नियतवश ग्यास नरोकेको स्पष्ट पारेका छन्। बढ्दो माग र आपूर्तिबीच सन्तुलन नमिल्दा आफूहरू पनि समस्यामा परेको उनीहरूको भनाइ छ।
बर्दिबासस्थित सुपर ग्यासका डिलर रोशन श्रेष्ठ र नेपाल ग्यासका डिलर विनोद बस्नेतले बुकिङअनुसार पालैपालो ग्यास वितरण गर्दै आएको बताउनुभयो। माग गरेलगत्तै ग्यास उपलब्ध गराउन नसक्नु आपूर्ति कम भएकै कारण भएको उहाँहरूको भनाइ छ।
बस्नेतले भन्नुभयो, “ग्यासको माग सुरसाको मुखझैँ बढ्दै गएको छ। जति वितरण गरे पनि लाइन उत्तिकै छ। बुधबार मात्र मेरो डिपोमा २०० जनाले बुकिङ गराइसकेका छन्। ग्यास कहिले आउने हो ठेगान छैन। जति आउँछ, एकैछिनमा सकिन्छ।”
बर्दिबासमा होटल व्यवसायको मुख्य इन्धनका रूपमा प्रयोग हुँदै आएको एलपी ग्यासको आपूर्ति नियमित नहुँदा व्यवसायी थप समस्यामा परेका छन्। अभाव लम्बिँदै गए होटल सञ्चालनदेखि उपभोक्तासम्म यसको प्रत्यक्ष असर पर्ने देखिएको छ।









