पर्सा। पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै मानव-बाघबीच सहअस्तित्व प्रवर्द्धन गर्न ‘बाघ मित्र’ अभियान विस्तार गरिने भएको छ।
निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाका अनुसार हालै गरिएको बाघ गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा ७१ वटा पाठे बाघ भेटिएका छन्। यसअघि निकुञ्जमा ४१ वटा बाघ रहेकामा पछिल्लो गणनामा ३० वटा थपिएका हुन्।
बाघको सङ्ख्या बढेपछि वन्यजन्तुप्रतिको नागरिकको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने तथा मानव–वन्यजन्तु द्वन्द्वबाट हुने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले अभियानलाई विस्तार गर्न लागिएको निकुञ्ज प्रमुख खतिवडाले बताउनुभयो।
निकुञ्जसँग जोडिएका पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयसँगको समन्वयमा समुदायस्तरमा अभियान सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो। अभियानअन्तर्गत वन्यजन्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने, वन्यजन्तुबाट सुरक्षित रहने उपाय, समस्या पर्दा अपनाउनुपर्ने प्रक्रिया तथा राहत प्राप्त गर्ने विधिबारे अन्तर्क्रिया र छलफल सञ्चालन भइरहेको छ।
“कहिलेकाहीँ आहारको खोजीमा बाघ जङ्गलबाट बाहिर निस्किन्छ। बाघ देख्नेबित्तिकै मानिसमा नकारात्मक सोच आउने गरेको छ,” खतिवडाले भन्नुभयो, “त्यसैले बाघप्रति समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने र बाघबाट जोगिने उपायबारे सचेतना जगाउन अभियान सञ्चालन गरेका हौँ।”
बाघलाई शत्रुका रूपमा नभई पारिस्थितिक प्रणालीको महत्वपूर्ण हिस्सा र पर्यापर्यटनको सम्भावनाका रूपमा बुझाउन अभियानले सहयोग गर्ने उहाँको भनाइ छ। बाघ संरक्षणसँगै त्यसलाई पर्यापर्यटनसँग जोडेर सकारात्मक सन्देश प्रवाह गर्न सकिने उहाँले बताउनुभयो।
जङ्गलमा डढेलो लगाउने, चोरी-तस्करी गर्ने तथा वन क्षेत्रमा मानवीय गतिविधि बढाउनेजस्ता कारणले वन्यजन्तु बासस्थानबाट बाहिर निस्किँदा मानव–वन्यजन्तुबीच द्वन्द्व हुने गरेको खतिवडाले बताउनुभयो।
उहाँका अनुसार समुदायको सक्रिय सहभागिता, वन्यजन्तुप्रतिको सकारात्मक सोच र संरक्षणसम्बन्धी व्यवहारमा सुधार ल्याउन सके मानव–बाघ द्वन्द्व न्यूनीकरणसँगै बाघ संरक्षणमा समेत प्रभावकारी योगदान पुग्नेछ।
रासस









